हेडलाईनसमाचारप्रदेश

पोखराको चर्चित ‘लिची बगान’ कब्जा काण्ड : दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रहार समाचार । काठमाडौँ, २२ असोज २०८२ बुधवार पोखराको चर्चित ‘लिची बगान’ जग्गा हिनामिना प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। घूस डिलको अडियो सार्वजनिक भएपछि सुरु भएको अनुसन्धानले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको संलग्नता पुष्टि गरेपछि ७८ लाख रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

कास्कीको पोखरा–१६ स्थित बाटुलेचौरको ‘लिची बगान’ भन्ने ठाउँमा पर्ने १३४ रोपनी जग्गा हडप्न खोजिएको योजनाको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्रीहरूसहितका बिचौलियाको संलग्नता उजागर भएको हो। घूस डिलको प्रमाणित अडियोपछि तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उक्त प्रकरणमा अर्का पूर्वमन्त्री बलराम अधिकारीमाथि अझै पूरक अनुसन्धान जारी छ।

विवादास्पद जग्गा पुरानो राणा बिर्ताको हो, जसलाई विसं २०१६ मा बिर्ता उन्मूलन भएपनि कानुनी प्रक्रिया पूरा गरी रैकरमा परिणत गरिएको थिएन। पछि राणा परिवारका सन्तानहरूले अदालतबाट आफू पक्षमा फैसला ल्याए पनि दशकौँसम्म त्यसको कार्यान्वयन भएन। यसबीचमा मुस्ताङबाट आएका थकाली समुदायले लिखतका आधारमा जग्गा किनेर बसोबास गर्दै आएका थिए।


४० वर्षअघि भएको अदालती फैसलाको कार्यान्वयनका लागि दुर्गादेवी शाहका नाममा नाति–नातिनी खडा गरी मालपोत कार्यालयमा २४ माघ २०८० मा निवेदन दिइएको थियो। सोही दिन जग्गा दर्ता गर्न सफल भएपछि बिचौलियाहरू र दाबी गरिएका हकदारबीच करारनामा गरिएको खुलेको छ। सो करारमा ३३ प्रतिशत जग्गा गीतादेवी शाह पक्ष, ४० प्रतिशत यमकुमारी गुरुङ र २७ प्रतिशत देवबहादुर मल्लले पाउने उल्लेख छ। खर्च व्यहोर्ने जिम्मा समेत बिचौलियाले लिएका थिए।

स्रोतका अनुसार मालपोतमा बुझाइएको निवेदन, अदालतको पुरानो फैसला, र बिचौलियासहितको मिलोमतोका आधारमा सार्वजनिक जग्गा हडप्ने प्रयास गरिएको पुष्टि भएपछि अख्तियारले तत्कालीन मन्त्रीहरू र संलग्नहरूमाथि मुद्दा अघि बढाएको हो। अहिले प्रकरण विशेष अदालतमा पुगेको छ भने बाँकी संलग्नहरूमाथि अनुसन्धान जारी छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button