प्रहार समाचार । तनहुँ, २२ असोज २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–४ मा पर्ने पृथ्वी राजमार्ग खण्डमा पैदलयात्रु, विशेषगरी विद्यार्थी तथा स्थानीय बासिन्दालाई सडक वारपार गर्न जोखिमपूर्ण बनेपछि सो क्षेत्रमा जेब्राक्रसिङ राख्न माग गरिएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत पर्ने पूर्वी खण्डलाई व्यास -३ र ४ का नागरिकहरूले हरि ऊँ टोलको सक्रियतामा हस्ताक्षर संकलनसहित लिखित निवेदन दर्ता गराउने तयारी गरेका छन्।

व्यास–४ अन्तर्गत सुवर्ण मार्गदेखि विदुर मार्ग, दुर्गा मन्दिरदेखि तरकारी लाइन चोकसम्मको क्षेत्रको उपयुक्त स्थानमा जेब्राक्रसिङ राख्नु पर्ने माग गरिएको व्याज – ४ का नागरिक अगुवा भाग्यशाली ढुङ्गानाले बताए । उक्त स्थान आसपासबाट जलदेवी ‘क’ र ‘ख’, सित्तल चौक, सत्यवती मा.वि., संस्कृत मा.वि., बाल मन्दिर मावि, आदीकवि भानुभक्त क्याम्पस, विभिन्न बोर्डिङ स्कुल, बैंक र सरकारी कार्यालयका सयौं नागरिक र विद्यार्थीहरू दिनहुँ आवतजावत गर्छन्। तर, सडक पार गर्ने स्पष्ट व्यवस्था नहुँदा दुर्घटनाको जोखिम उच्च भएको भन्दै नगरवासीहरूले चासो देखाएका छन्।

‘यदि समयमै जेब्राक्रसिङ जस्ता सुरक्षा उपाय नगरिए गम्भीर दुर्घटनाको जोखिम बढ्न सक्छ’ व्यास–४ का कृष्णराज घिमिरेले बताए । व्यास -३, का व्यवसायी ठाकुरप्रसाद पौडेल उक्त स्थान वरपर जेब्राक्रसिङ नहुँदा सर्वसाधार नागरिकलाई ठूलो समस्या परेको बताउँछन् ।
हस्ताक्षर अभियानमा केशकुमारी राना मगर, गोविन्द लम्साल, हेमकान्त लम्साल, ठाकुरप्रसाद पौडेल, टिका गिरीसहित ५० जनाको हस्ताक्षर संकलन गरी मागपत्र सम्बन्धित निकायमा बुझाइने बताइएको छ । मागको बेवास्ता भएमा सडकमा रहेको सिमेन्टका बार हटाउने बाध्यता आउन सक्ने चेतावनीसमेत हस्ताक्षर सङ्कलन अभियान्ताहरुले दिएका छन्। यद्यपी आयोजनाले भने यस अघि दमौली स्थित ट्राफिक चोक र बागबजार (तात्कालिन शहिद गेट) तल जेब्राक्रसिङ राखेको छ।
























