प्रहार समाचार । काठमाडौँ, २२ असोज २०८२ बुधवार । वेस्ट इन्डिजजस्तो बलियो टेस्ट टोलीलाई हराएर उच्च मनोबल बटुलेको नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप एसिया छनोटको अभियान कुवेतविरुद्धको खेलबाट आज ओमानमा सुरू गर्दैछ। आत्मविश्वासले भरिएको नेपालले प्रतियोगितामा बलियो सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रन लागेको हो।

ओमानमा सुरू भएको टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट नेपाली टोलीका लागि विश्वकप प्रवेशको अन्तिम खुड्किलो हो। नेपाल समूह ‘बी’ मा जापान र कुवेतसँग रहेको छ भने समूह ‘ए’ र ‘सी’ मा क्रमशः यूएई, मलेसिया, कतार तथा ओमान, पीएनजी र सामोआ रहेका छन्। हरेक समूहबाट दुई टोली ‘सुपर–६’ चरणमा पुग्ने छन्, जसको शीर्ष तीन टोलीले सन् २०२६ मा भारत–श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ ।
यही तयारीस्वरूप नेपालले अस्ट्रेलिया भ्रमण, ओमानमा अभ्यास खेल तथा यूएईमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक शृंखला जित्दै तयारी गरेको हो। नेपाली टोलीले क्यारेबियन टोलीलाई २–१ ले हराउँदै टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखला जितेको इतिहास रचेको थियो। उक्त जितसँगै नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा उल्लेखनीय सुधार देखाएको थियो ।
विश्वकप छनोटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा अनुभवी टोली घोषणा गरिसकेको छ। टोलीमा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ललगायतका खेलाडी छन्, जसले २०२४ को विश्वकपमा अनुभव बटुलेका थिए। अनुभवी तथा युवा खेलाडीको समिश्रण रहेको टोलीले यसपटक विश्वकपको तेस्रो यात्रा तय गर्ने विश्वास गरिएको छ।
























