काठमाडौँ, असोज २१ — पछिल्लो केही दिनदेखि सिंहदरबारमा भएको आगलागीका सन्दर्भमा काठमाडौं महानगरको दमकल सेवा नपुगेको आरोप सामाजिक सञ्जालदेखि मिडियासम्म उठिरहेका छन्। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विस्तृत विवरणसहित सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमार्फत एक लामो वक्तव्य जारी गर्दै अफवाहमा आधारित आरोपहरूको खण्डन गरेका छन्। उनले स्पष्ट पारेका छन् कि महानगरको दमकल सिंहदरबारमा समयमै पुग्ने प्रयास भए पनि आन्दोलनकारीले अवरोध गरेकाले सुरुमा पुग्न नसकेको र २४ गते साँझ ८:१५ बजे दमकल त्यहाँ पुगेको जानकारी दिएका छन्।
उनले भने, “सिंहदरबार जलाउने नै बालेन शाह हो भन्ने जस्ता हल्ला गलत र बेबुनियाद छन्। हामी आरोपबाट होइन, जिम्मेवारीबाट भाग्दैनौं।”
आगलागीको बेला देशभर अराजकता :
शाहका अनुसार भदौ २४ गतेको राति देश अराजक स्थितिमा थियो। सिंहदरबार मात्र होइन, व्यापारिक प्रतिष्ठानदेखि निजी घर, सार्वजनिक संरचनाहरू सबै जलिरहेका थिए। “त्यो दिन सरकार नै थिएन, राज्य ठप्प थियो। तर काठमाडौं महानगर भने आफ्नो दायित्वबाट पछि हटेको थिएन,” शाहले लेखेका छन्।
उनले दमकल सेवा मात्र नभई स्वास्थ्य सेवा, घाइते र बिरामीहरूको उपचार, औषधि तथा रगत व्यवस्थापन, लास व्यवस्थापन, खाना र आवास व्यवस्थापन समेतमा महानगरको टिमले भूमिका निर्वाह गरेको बताएका छन्।
तथ्यांकसहितको प्रतिवेदन :
मेयर शाहले सार्वजनिक गरेका विवरण अनुसार, २३ गतेदेखि २८ गतेसम्म काठमाडौं महानगरको दमकल ५५ भन्दा बढी स्थानमा आगो निभाउन खटिएको थियो। बालाजु, न्युरोड, रामहिटी केन्द्रबाट सञ्चालित पाँचवटा दमकल र ४४ जना जनशक्ति (नगर प्रहरी र सशस्त्र प्रहरीसहित) ले तीन सिफ्टमा काम गरिरहेको उनले बताए।
उक्त अवधिमा दमकलले सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, बानेश्वरस्थित बैंकहरू, बसपार्क, विभिन्न प्रहरी चौकी, अस्पताल, डाटा सेन्टर, ट्राफिक कार्यालय, कारागार, होटलहरू लगायतका स्थानहरूमा आगो निभाउने कार्य गरेको विस्तृत विवरणसमेत प्रस्तुत गरिएको छ।
स्वास्थ्य र उद्धारमा महानगरको सक्रियता :
स्वास्थ्य व्यवस्थापनबारे जानकारी दिँदै शाहले भने, “संघीय सरकारले घोषणा गर्नु अघि नै हामीले अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचार सुरु गरेका थियौं।” उनले औषधि, रक्त व्यवस्थापन, खाना तथा लजिस्टिक व्यवस्थापनदेखि बिरामीको अभिभावकको भूमिका समेत निर्वाह गरिएको जनाएका छन्। “इनफर्म्ड कन्सेन्ट फारममा समेत नगर प्रहरीले हस्ताक्षर गरी जिम्मेवारी लिएको थियो,” उनले उल्लेख गरेका छन्।
अफवाह र भ्रामक प्रचारविरुद्ध सावधानी :
मेयर शाहले अफवाह फैलाउने र तथ्यविना निष्कर्ष निकाल्नेहरूलाई सचेत रहन आग्रह गरेका छन्। उनले भने, “यस्ता गलत प्रचारले जनतालाई भ्रममा पार्नुका साथै २४ सैं घण्टा खटिने हाम्रो टिमको मनोबल गिर्छ।”
मिडियालाई तथ्य र प्रमाणमा आधारित रहेर समाचार प्रकाशन गर्न विशेष आग्रह गर्दै शाहले भने, “सही सूचना जनताको अधिकार हो, कृपया सत्य तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्नुहोस्।”
वक्तव्यको अन्त्यमा मेयर बालेन शाहले देशलाई अहिलेसम्म भन्दा बढी साचो जानकारी, एकता र मानवता को आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले अपिल गरे, “सत्य बुझौं, अफवाह फैलाउने काम नगरी सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔं।”



























