प्रहार समाचार । काठमाडौं, २१ असोज २० ८२ मङ्गलवार । पछिल्लो समय देशभर विभिन्न स्थानमा आएका बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का पीडितहरूका लागि सरकार सक्रिय भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले घरबार गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदानको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध मन्त्री जगधिश खरेलले जानकारी दिए ।

बैठकले मृतक तथा बेपत्ताका परिवारलाई राहत दिन, घाइतेको निःशुल्क उपचार गर्न र महामारी फैलिन नदिन स्वास्थ्य शिविर, जनचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, अवरुद्ध सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्न तथा उद्धार कार्यलाई निरन्तरता दिन विशेष जोड दिइएको छ।
बैठकमा संघीय तथा प्रदेश सरकारका शीर्ष पदाधिकारीहरू, सुरक्षानिकाय प्रमुखहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो। बहुआयामिक उपस्थिति र स्पष्ट कार्ययोजनाले विपद् व्यवस्थापनमा सरकारको सक्रियता र समन्वित प्रयास थप बलियो रूपमा देखिएको छ।



























