प्रहार समाचार । काठमाडौँ, २१ असोज २०८२ मङ्गलवार । विभिन्न भू–भागमा परेको अविरल वर्षाले विद्युत आपूर्तिमा अस्थायी अवरोध निम्त्याएको छ। कतै विद्युत पोल ढलेका छन् भने कतै तार चुँडिएर आपूर्ति अवरुद्ध भएको छ। तर, ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री कुलमान घिसिङले यस्तो अवस्था दीर्घकालीन नहुने स्पष्ट पार्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरेका छन् ।

“कतै कतै सामान्य समस्या देखिएको हो, तर यो दीर्घकालीन समस्या होइन। विद्युत जाने अवस्था छैन र जाँदैन पनि,” मन्त्री घिसिङले बताएका छन्। उनका अनुसार विद्युत प्राधिकरणको प्राविधिक टोलीहरू प्रभावित क्षेत्रहरूमा खटिइसकेका छन् र समस्या समाधानको कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
मन्त्री घिसिङले थपे, “हामी प्रत्येक क्षेत्रमा आवश्यक संयन्त्र परिचालन गर्दैछौं। प्राधिकरण, भौतिक पूर्वाधार र स्थानीय निकायको समन्वयमा समस्या समाधान भइरहेको छ। यस्तो मौसममा पनि सेवा अविच्छिन्न राख्न हाम्रो टोली प्रतिबद्ध छ।”
नेपाल विद्युत प्राधिकरणले समेत पोल ढलेका स्थानमा नयाँ पोल गाड्ने, चुँडिएका तार मर्मत गर्ने तथा अन्य प्राविधिक समस्या समाधानका लागि मर्मत टोलीलाई खटाएको छ। अधिकांश स्थानमा सेवा पुनः सुरु भइसकेको छ भने बाँकी क्षेत्रमा पनि चाँडै सामान्य अवस्थामा ल्याउने तयारी भइरहेको छ।
मन्त्री घिसिङले अफवाहमा नपर्न र आवश्यक परे नजिकको कार्यालयमा सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन्। “सरकार सजग छ। हामी जनताको सेवा र सुरक्षामा पूर्ण रूपले प्रतिबद्ध छौं,” उनले भने।



























