प्रहार समाचार । तनहुँ, १९ असोज २०८२ आइतवार । लगातारको वर्षाले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा पृथ्वीराजमार्ग फेरि सडक भासिएको छ। शनिबार अपरान्ह करिब ४ बजे भासिएको सडकले मुग्लिन–आँबुखैरेनी खण्डको सवारी आवागमन प्रभावित बनाएको छ। जोखिम न्यूनीकरणका उपायस्वरूप सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार, भासिएको स्थानमा प्रहरी खटाएर सवारी साधनलाई एक तर्फी सुरक्षित रूपमा पास गराइँदैछ। तर रातिको समयमा भू-स्खलनको थप सम्भावना रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक नभए यात्रा नगर्न आग्रह गरिएको छ ।
यसअघि २०७९ साल जेठ २७ गते पनि यही स्थानमा सडक भासिएको थियो। त्यसबेला मस्र्याङ्दी नदीतर्फ भित्तो काटेर पर्खाल बनाइएको भए पनि स्थायित्व कायम रहन नसक्दा पुनः समस्या दोहोरिएको छ। सडकको संरचनागत कमजोरी र पानी निकासको अपुग व्यवस्थापनले वर्षा लाग्ने बित्तिकै मार्ग असुरक्षित बन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
























