प्रहार समाचार । काठमाडौं, १९ असोज २०८२ आइतवार । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष मनसुनको अन्त्यतिर आएको विपद्का घटनामा समयमै पूर्वसूचना दिन सफल भएकाले अपेक्षाकृत कम जनधनको क्षति भएको बताएका छन्। असोज १८, १९ र २० गतेको सम्भावित जोखिमबारे विभागले २७ अक्टोबरमै पूर्वानुमान जारी गरिसकेको उनले स्मरण गराउँदै सूचनाको प्रभावकारी प्रसारणले ठूलो क्षति हुन नदिएको बताए।

जोशीका अनुसार पूर्वानुमान, बुझाइमा एकरुपता र समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गर्दा विपद् प्रतिकार्य प्रभावकारी भएको हो। विभागले स्थानीय निकाय, सञ्चार माध्यम र सरोकारवालासँग समन्वय गर्दै जोखिम न्यूनीकरणमा टेवा पुऱ्याएको उल्लेख गर्दै उनले यस्ता प्रयासहरूले विगतको तुलनामा जनधनको क्षति कम गराएको बताए।
उनले पूर्वानुमान सधैं ठीक वा गलत हुने सम्भावना रहेको भन्दै त्यसमा हर्ष वा निराशा होइन, सुधार र तयारीमा ध्यान दिनुपर्ने धारणा राखे। “पूर्वसूचना प्रणाली सुदृढ र समन्वयात्मक भएकाले यो वर्षको विपद् व्यवस्थापन अपेक्षाकृत सफल रह्यो,” जोशीले निष्कर्ष सुनाए।
























