प्रहार समाचार । काठमाडौं, ५ भदौ २०८२ बिहीवार । देशका पहाडी क्षेत्रमा मौसम अस्थिर बन्दै गएसँगै कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आज रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यस्तै अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही भाग पनि प्रभावित हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले राति कोशी, मधेस, वाग्मती र गण्डकीका धेरै ठाउँमा वर्षा तीव्र हुने बताएको छ । विशेषगरी कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको उच्च जोखिम रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
लगातारको वर्षाले पहाडी भूभागमा पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र साना–ठूला खोलानालामा पानीको सतह बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ । यसले यातायात अवरुद्ध हुने, नदी किनारका बस्ती प्रभावित हुने र दैनिकीमा असर पर्ने भएकाले पूर्वतयारीसहित सजग रहन आग्रह गरिएको छ ।
























