• विजय अधिकारी ( प्रहार संवाददाता) लमजुङ, १४ साउन २०८२ बुधवार । ‘जलविद्युतको आम्दानी, स्वास्थ्य बीमामा लगानी’ भन्ने नारासहित लमजुङको दोर्दी गाउँपालिकाले सबै नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाका सबै ९ वटै वडामा साउन महिनाभित्रै बीमा प्रक्रिया सम्पन्न गरी असोज १ गतेदेखि सेवा सुरु हुने बताइएको छ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार, साउन १३ गते आइतबार वडा नं. १, २, ३ र ४ मा, साउन १४ गते सोमबार वडा नं. ५ र ९ मा, तथा साउन १५ गते मंगलबार वडा नं. ६, ७ र ८ मा कार्यक्रम सम्पन्न गरिएको हो।
उनले भने, ‘५ जनासम्मको परिवारको बीमा शुल्क ३,५०० रुपैयाँ र त्यसभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यको ७०० रुपैयाँ पालिकाले नै बेहोर्नेछ। अब यो कार्यक्रम वृद्धभत्ताजस्तै निरन्तर चल्नेछ।’

जलविद्युत आम्दानीबाट जनस्वास्थ्यमा लगानी :

दोर्दी गाउँपालिका क्षेत्रमा सञ्चालित सुपर दोर्दी ‘ख’ (५४ मेगावाट), माथिल्लो दोर्दी ‘ए’ (२५ मेगावाट), दोर्दी-१ (१२ मेगावाट) र दोर्दी खोला (२७ मेगावाट) जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी आम्दानी कार्यक्रमको मुख्य स्रोत बनेको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, स्वास्थ्य बीमा बोर्ड लमजुङका संयोजक रमेश खनिया, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, आमा समूहलगायतको उ उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले बीमा बोर्ड अन्तर्गत प्रशिक्षित बीमा सहजकर्ता टोलटोलमा परिचालन गरी सेवा दिने बताए। संयोजक खनियाका अनुसार ४ हजार २ सय २५ घरपरिवारको बीमा साउन महिनाभित्रै सम्पन्न गरिने लक्ष्य छ।

गएको असार १० गते पारित नीति तथा कार्यक्रममा स्थायी बासिन्दालाई लक्षित गरी १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।



























