प्रहार समाचार । तनहुँ, १३ साउन २०८२ मङ्गलवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडक खण्डमा प्रहरीले विशेष जाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित कास्कीका युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको निगरानी गर्दै खोजतलास गर्ने क्रममा ती युवकको साथबाट लागूऔषध बरामद गरेको हो ।

पक्राउ पर्ने व्यक्ति कास्की जिल्ला, पोखरा महानगरपालिका–१६ निवासी २४ वर्षीय सन्तोष तामाङ रहेका छन्। तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाएर राखिएको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखिएको ८४ पत्ता, अर्थात् ८ सय ४० वटा क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिएका छन्। साथै, तामाङको साथबाट एउटा मोबाइल फोनसमेत प्रहरीले बरामद गरेको छ ।
हाल तामाङलाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरीले पृथ्वी राजमार्ग क्षेत्रलाई लागूऔषध ओसारपसारविरुद्ध संवेदनशील क्षेत्र मानी निगरानी तथा चेकजाँच अभियानलाई तीव्रता दिएको जनाएको छ। य
























