प्रहार समाचार । तनहुँ, १३ साउन २०८२ मङ्गलबार । देशभर आज वैदिक परम्पराअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। घरको मूलढोकामा नागको तस्वीर टाँसी गाईको दूध, दुबो, अक्षता र खीरजस्ता परिकार चढाई नागदेवताको पूजा–आराधना गरिँदैछ। वर्षभर नाग, सर्प, बिच्छीलगायत जीवबाट टाढा रहन र अग्नि, चट्याङ तथा मेघको डरबाट जोगिन पनि नागपूजा गरिने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। शिव, विष्णु, गणेश, लक्ष्मण, बलराम, बुद्धदेखि मत्स्येन्द्रनाथसम्म नागसँगको सम्बन्ध पुराणमा उल्लिखित छन्। डा. भट्टराईले बताएअनुसार घरको जगमुनि वास गर्ने नाग रिसाएमा हानि पुग्ने विश्वासले पनि पूजाको परम्परा बलियो भएको हो।
नागपञ्चमी मनाउने प्रचलनसँग जोडिएको प्रमुख किंवदन्ती अनुसार एक किसानका छोरा मरेपछि आक्रोशित नागिनीले उनको परिवार मार्न लागेकी थिइन्। तर पूजाआजा र प्रार्थनाबाट प्रसन्न भई नागिनीले जीवनदान दिएकी थिइन्। सोही दिन नागपूजा गरिन थालेको जनविश्वास रहेको छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग स्थानहरूमा आज विशेष पूजाआजा गरिँदैछ। नागपञ्चमीपछि वैदिक सनातन हिन्दू धर्मावलम्बीको चाडपर्वको शृङ्खला विधिवत रूपमा सुरु हुने मान्यता समेत रहेको छ।
























