भानु, तनहुँ — भानु नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै मर्स्याङ्दी नदीमा साहसिक जलविहार र पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ। नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा र भानु नगरपालिकाको सहयोगमा सम्पन्न पर्यटन प्रवर्द्धन कार्यक्रमले स्थानीय तथा प्रदेशस्तरका व्यक्तित्वहरूको उपस्थिति र विचार आदानप्रदानसँगै सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकाले ऐतिहासिक गौरव बोकेको हुँदा पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेको बताए। “मठमन्दिर, कृषि पर्यटन, चितीकोट, दोरहोरकोट, प्रसिद्ध थानीमाई मन्दिर, र चुँदी रम्घाजस्ता स्थलहरुले भानुलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ,” उनले भने। साथै, मर्स्याङ्दी नदीमा जलविहार, र्याफ्टिङ र प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरु विस्तार गर्ने योजना रहेको पनि उनले बताए।

कार्यक्रममा उपप्रमुख उमा गोतामेले पालिकाले आर्थिक समृद्धिको आधारको रुपमा पर्यटन विकासलाई प्राथमिकतामा राखेको बताइन्। “सम्पदाहरुको संरक्षण गर्दै समुदायमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित होमस्टे सञ्चालन तथा पर्यटन पूर्वाधार विस्तारमा जुटेका छौं,” उनले भनिन्।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले देशको आर्थिक समृद्धिमा पर्यटन व्यवसायले उल्लेखनीय योगदान दिएको भन्दै राज्यको लगानी आवश्यक रहेको धारणा राखे। ग्रीनहिल सामुदायिक होमस्टेकी धनकुमारी सारू मगरले समुदाय-आधारित पर्यटनले स्थानीय जीवनस्तर उकास्न भूमिका खेलेको बताइन्।

कार्यक्रम नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। सहभागीमध्ये वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी, वडा नं. ९ का अध्यक्ष मिनबहादुर गुरुङ, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी क्रियाहरि लौडारी लगायतले समेत पर्यटन पूर्वाधारको सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।
भानु नगरपालिकाले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनलाई एकसाथ जोड्दै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजनासहित पर्यटन रणनीति अघि बढाएको प्रष्ट देखिएको छ। क
























