प्रहार समाचार | पोखरा, ४ जेठ २०८१, आइतवार
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शनिवार भक्तिभाव र जनसागरले भरिएको थियो। प्रचार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन्। यस्तो अनुपम दृश्यले महायज्ञलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको आयोजकहरू बताउँछन्।

यो यज्ञ हिन्दू धर्म जागरणको अद्वितीय अभियानका रूपमा स्थापित भइरहेको छ। कार्यक्रमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आगामी दिनहरूमा स्वयम् कथा वाचन गर्नेछन्। शनिवार पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिँदै महायज्ञको कथा श्री विजय कृष्णमूर्तिजीले आगामी जेठ १३ गतेसम्म दिउँसो २ देखि ६ बजेसम्म सुनाउनेछन्। त्यसै गरी युवा दार्शनिक चैतन्यकृष्ण महाराजले ११ देखि २ बजेसम्म कथा वाचन गरिरहेका छन्।

शनिवारको कार्यक्रममा जगद्गुरु शङ्कराचार्य स्वामी नरेन्द्रानन्द सरस्वती जी, महामण्डलेश्वर वाल सन्त रामेश्वरानन्द सरस्वती जी, विन्ध्यवासिनी पीठाधीश्वर निषेशानन्द गुरु महाराज लगायतका साधु सन्तहरूले प्रवचन दिए। देउडा गायक नन्दकृष्ण जोशी, राधिका हमाल, पूर्णकला बिसीले भजन प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे।
कोटिहोममा सञ्चारकर्मीलाई सम्मान, राष्ट्रिय भजन प्रतियोगिता, रक्तदान, सांस्कृतिक झाँकी, तुला दान, दीप प्रज्वलन, शिवलिङ्ग निर्माण, चौरासी पूजन, पितृ उद्धार, र रुद्राभिषेकजस्ता विशेष धार्मिक कार्यक्रमहरू भइरहेका छन्।
शनिवार पत्रकार ऋषि धमलाले पोखराका उद्योगी–व्यापारीलाई सेवा र दानमार्फत सहभागिताको आह्वान गरे।
कोटिहोममा जेठ ५ गते थारु समुदायको लाठी नाच, झमटा, झुमरा लगायत प्रस्तुति, जेठ १० गते दरौँ सिरुवारिबाट थाली नाच, जेठ ११ मा ‘सनातन संस्कृति र विद्यार्थी’ शीर्षक वक्तृत्व प्रतियोगिता, र जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध वाचिकाहरूको कथा वाचन हुने महायज्ञ प्रचार प्रसार समितिका संयोजक लेखराज ढकालले जानकारी दिए।छ

४ सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक हवन, १८ पुराण, ४ वेद, १०८ श्रीमद्भागवत पाठ र विविध कर्मका साथ सञ्चालन भएको कोटिहोम जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी रहनेछ।
























