प्रहार समाचार । तनहुँ, ३ जेठ २०८२ शनिवार । म्याग्दे गाउँपालिकाले युवायुवतीलाई स्वरोजगारमा प्रेरित गर्न तथा समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सिपमूलक तालिम कार्यक्रम सुरु गर्ने भएको छ। रोजगारीको अभावसँग जुधिरहेका युवाहरुको मागपछि गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत विभिन्न सिप तालिमहरु सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेका अनुसार हाल उद्यमशीलता विकास तालिम, घरधुरी सर्वेक्षण तथा अभिमुखिकरण कार्यक्रम संचालनमा छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा वडा नं. ३, ४, ५ र ६ का ७५ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
तालिमका कार्यक्रम अन्तर्गत क्रिस्टल गहना निर्माण, हर्पिक, फिनेल, झोल साबुन, वारिष्ठा कफी उत्पादन, पञ्चेबाजा संरक्षण, कुकिङ, होमस्टे व्यवस्थापन लगायतका विषय समेटिने छन्।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार तालिम कार्यक्रमले स्थानिय तबरमा रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको आधार तयार गर्ने विश्वास लिइएको छ। “नवप्रवद्र्धन र बृद्धिमुखी उद्यमशीलतालाई प्राथमिकता दिइरहेका छौं,” अधिकारीले भने, “युवालाई व्यवसायप्रति आकर्षित गर्न विजनेश स्टार्टअप कन्फरेन्स पनि आयोजना गरिसकेका छौं।”
गाउँपालिकाले निजी, सामुदायिक र सहकारी क्षेत्रलाई समेत सहभागी गराउँदै समावेशी र दिगो आर्थिक विकासको लक्ष्य लिएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन, उत्पादनशीलता वृद्धि र आत्मनिर्भरताको बाटोमा म्याग्दे गाउँपालिका अग्रसर देखिएको छ।

























