प्रहार समाचार । काठमाडौँ , ३ जेठ २०८२ शनिवार |
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शिष्टाचार भेट गरेका छन्। सगरमाथा संवादका लागि नेपाल आएका उपविदेशमन्त्री आकिको प्रधानमन्त्री निवास बालुवाटार पुगेर शनिबार बिहान ओलीसँग भेट गरेका हुन्।भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको समस्यारहित मैत्री सम्बन्धको चर्चा गर्दै जलवायु परिवर्तनजस्तो समसामयिक विषयमा जापानको सक्रिय सहभागिता र सहकार्यप्रति धन्यवाद व्यक्त गरे। उनले पूर्वाधार विकास, वातावरणीय दिगोपनाको प्रवर्द्धन र विपद् जोखिम न्यूनीकरणमा जापानको अनुभव नेपालका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

जवाफमा उपविदेशमन्त्री आकिकोले नेपालको आर्थिक विकास, शिक्षा, मानवीय स्रोत विकास, वातावरण र संस्कृति संरक्षणका क्षेत्रमा जापानले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाए।
भेटका क्रममा नेपाल–जापानबीचका विविध क्षेत्रीय सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। कार्यक्रममा नेपालका लागि जापानी राजदूत माइदा तोरु, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

























