प्रहार समाचार । काठमाडौँ ,३ जेठ २०८२ शनिवार | — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विचारमा स्पष्टता बिना भट्किएका व्यक्तिहरूलाई वामपन्थी एकताको नाममा पार्टीमा ल्याउन नहुने बताएका छन्। शनिबार बल्खुस्थित मदननगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै एकता केवल संख्याका लागि नभई, सही विचारमा आधारित भएर हुनुपर्नेमा जोड दिए।

उनले विगतमा पनि सैद्धान्तिक भिन्नता नभएको अवस्थामा व्यक्तिगत स्वार्थ र पदको चाहनाले पार्टी फुटाउने प्रवृत्ति हावी भएको उल्लेख गरे। ओलीका अनुसार, केही व्यक्तिहरू सही कुराको पनि अन्धविरोध गरेर संगठनमा अनावश्यक विवाद ल्याउने प्रवृत्तिले वामपन्थी आन्दोलनलाई कमजोर बनाउँदै आएको छ। ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिक र मानवीय मूल्यसहितको वैचारिक मोडेलको रूपमा स्थापित भएको बताए। उनले भनाइ अनुसार, जबजले ‘कम्युनिष्ट भनेको सधैं अधिनायकवादी हुन्छ’ भन्ने आरोपलाई खण्डन गर्न सफल भएको छ।
प्रधानमन्त्री ओलीले मदन भण्डारीलाई युगअनुसार परिवर्तन ल्याउन सक्ने विचारकको रूपमा स्मरण गर्दै, जबजको अवधारणाले एमालेलाई दुईतिहाइको लोकप्रिय समर्थनसम्म पुर्याएको दाबी गरे। उनले अहिले विश्वभर वामपन्थी आन्दोलनमा देखिएको कमजोरीको कारण दक्षिणपन्थी सोच, जातीयता र अराजकतावाद भएको बताउँदै नेपालमा भने विविधतालाई सांस्कृतिक समृद्धिका रूपमा स्वीकार्दै एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो अपनाइएको बताए।

प्रधानमन्त्री ओलीले जनतामै शक्ति केन्द्रित रहेको मान्यताका आधारमा सधैं राष्ट्रियता, अखण्डता र स्वाधीनताको मार्गमा दृढ रहेको पनि उल्लेख गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, र आश्रितकी पत्नी माया ज्ञवालीलगायत पार्टीका नेताहरूको उपस्थिति थियो।

























