प्रहार समाचार । काठमाडौँ ,३ जेठ २०८२ शनिवार । देशभर बदलिँदो मौसमले प्रभाव विस्तार गरिरहेको छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा र अन्य भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातको सम्भावना समेत देखिएको छ। मौसमविद्हरूले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सम्भावित प्रभावका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
वर्तमानमा देशमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






















