• शंकरराज नहर्की / मुस्ताङ, ३ जेठ २०८१, शनिवार
जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर आज विश्वव्यापी चुनौतीका रूपमा उभिएको छ। तर, यसको प्रत्यक्ष प्रभाव उच्च हिमाली भूभाग भएका कम विकसित राष्ट्रहरूमा अझ गहिरो रूपमा देखिन थालेको छ। नेपालका हिमाली जिल्ला—विशेषगरी गण्डकी प्रदेशअन्तर्गतको मुस्ताङमा जलवायु परिवर्तनका असरले स्थानीय जीवनशैली, कृषिप्रणाली, जैविक विविधता र पर्यटनसमेत प्रभावित बनाउँदै लगेको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

गण्डकी प्रदेशका सांसद विकल शेरचन भन्छन्, “विकसित मुलुकले गरेको प्रदूषणको असर हामीले व्यहोर्नु अत्याचार हो। जबसम्म प्रकृति र परम्पराको संरक्षणमा चेतना जागृत हुँदैन, तबसम्म यसको भयावह असरबाट उम्कन सकिन्न।”

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार, विगत तीन वर्षदेखि मुस्ताङमा हिउँ नपरेको र त्यसको प्रत्यक्ष असर स्याउ, आलु, जौ जस्ता नगदे बालीहरूमा देखिएको छ। उत्पादन ह्राससँगै रोग किरा तथा प्रजातिहरूको लोप समेत चिन्ताको विषय बनेको छ।

नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भिम रसाइलीले प्रहार समाचारलाई बताएअनुसार, ध्य थाङ्जुङ जस्ता गाउँहरूमा पानीका स्रोत सुक्न थालेपछि जनसङ्ख्या विस्थापन भइसकेको छ। “आज त्यहाँ जान त सकिन्छ, तर जीवनको चहलपहल हराइसकेको छ,” रसाइली भन्छन्।

तापमान वृद्धि, सुक्खा जमिन, घाँस नउम्लिने, पशुपालनमा संकट, र हिमालमा हिउँको कमी—यी सबै जलवायु परिवर्तनका संकेतहरू हुन्। यदि यो प्रवृत्ति यस्तै तीव्र गतिमा अगाडि बढ्दै गयो भने, “हिउँबिनाको कालो हिमाल” र “मानवबिनाको हिमाली बस्ती” हेर्नुपर्ने दिन टार्न नसकिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भूषालको चेतावनी छ।

यद्यपि, मुस्ताङ संकट मात्र होइन, सम्भावनाको भूमिपनि हो। मुक्तिनाथ, दामोदर कुण्ड, बौद्ध गुम्बाहरू, अनौठो भूगोल र सांस्कृतिक विविधताले यो जिल्ला धार्मिक, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ।
स्थानीय पर्यटनलाई मजबुत बनाउँदै जलवायु अनुकूल रणनीति अवलम्बन गरिएमा हिमालको संरक्षण र पर्यटन प्रवर्द्धनलाई सन्तुलनमा राख्न सकिने भूषालको विश्वास छ। पूर्वाधार विकास, स्वास्थ्य सेवा पहुँच, नयाँ गन्तव्य पहिचान, र प्रभावकारी सूचना केन्द्र स्थापनाले पर्यटनको दिगो विकासमा योगदान पुर्याउन सक्छ।

हिमालको संरक्षण र पर्यटन प्रवर्द्धन—यी दुई समानान्तर धारालाई सन्तुलनमा राख्न सकियो भने, हिमाली जीवनशैली मात्र होइन, राष्ट्रको समृद्धिको मार्गसमेत सुनिश्चित हुने देखिन्छ।


























