प्रहार समाचार । काठमाडौँ, २ जेठ २०८२, शुक्रवार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ५० दिनको हिरासतपछि आज रिहा भएका छन्। राजनीतिक प्रतिशोधकै कारण उनलाई गैरआवश्यक रूपमा थुनिएको भन्दै राप्रपाले सरकारको कडा आलोचना गर्दै आएको थियो। मिश्रलाई शान्तिपूर्ण अभिव्यक्तिको अधिकार प्रयोग गरेको भन्दै सरकारले अनुचित रूपमा कारबाही अघि बढाएको भन्दै देशभर विरोध प्रदर्शनसमेत भएका थिए।

मिश्रलाई वैशाख १३ गते काठमाडौँको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई आधार बनाएर हिरासतमा लिइएको थियो। सरकारले मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै राजनैतिक हस्तक्षेप बढाएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन्। मिश्रको रिहाइलाई जनदबाब र कानुनी प्रक्रियाको जितका रूपमा समेत हेरिएको छ।
रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले भने, “सत्य बोल्नेलाई थुन्न सकिन्छ, तर रोक्न सकिँदैन।” उनले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आफू निरन्तर लागिरहने स्पष्ट पारे। मिश्रको गिरफ्तारी र रिहाइको घटनाले देशको वर्तमान राजनीतिक अवस्था र सरकारको असहिष्णु प्रवृत्तिप्रति आमजनताको चासो थप बढाएको छ।


























