प्रहार समाचार । तनहुँ, १९ बैशाख २०८२ शुक्रवार । आगामी बैशाख २९ गते २५ सय ६९ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ देशभर मनाइने भएको छ। यसै सन्दर्भमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका मगर र गुरुङ समुदायले श्रमदान गरेर २५ सय ६९ औं बुद्ध जयन्ती मनाउने भएका छन् ।

गुरुङ मगर साँस्कृतिक एकता समाजले ‘शान्तिका लागि श्रम’ नाराका साथ बुद्ध जयन्तीको अवसरमा बैशाख २५, २६ र २७ गते श्रमदान कार्यक्रम आयोजना गरेको गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले बिहीवार शुल्लागण्डकीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा ३९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरिने भएको हो एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यका साथ समाजले गौतम बुद्धको प्रतिमा निर्माणको योजना अगाडि सारेको हो । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा बसोबास गर्ने २४ वटा मगर समाज र १३ वटा गुरुङ समाजका सदस्यले श्रमदान गर्नेछन् ।
वडा अनुसार पालो मिलाइएको उनले जानकारी दिए । हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म श्रमदान हुनेछ । कुटो, कोदालो, सावेल, लिएर आउन सबैलाई आग्रह गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘कम्तिमा त्यहाँको ढुंगा, माटोमा सबैको सहभागिता रह्यो भने अपनत्व महशुस हुन्छ।’ अध्यक्ष गुरुङले भने । ‘प्रतिमा निर्माणको अभियानमा श्रमदानले निकै ठूलो भूमिका खेल्नेछ । दुवै समुदायसँगै सुख दु:ख साट्ने हिजोको प्रचलनलाई पनि निरन्तरता दिदैछौं ।’ – अध्यक्ष गुरुङले थपे ।
उक्त प्रतिमा निर्माणिका लागि ६० लाख रुपैयाँको डिपआर बनाइएको छ । चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुद्ध पूर्णिमाको दिन बुद्ध प्रतिमा निर्माणस्थलमा भूमिपुजन गरिएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । गत वर्षसम्म शुक्लागण्डकीमा शान्ति ऱ्याली गरेर जयन्ती मनाउने प्रचलन रहेको गुरुङ मगर साँस्कृतिक एकता समाजका सल्लाहाकार सूर्यबहादुर थापाले जानकारी दिए । यो वर्ष पुरक ढङ्गले श्रमदानसँगै गुम्बाहरुमा पुजापाठ, धार्मिक प्रवचनका कार्यक्रहरु हुने उनले जानकारी दिए ।
शुक्लागण्डकी–४ पुल्चोकमा गुरुङ र मगर समुदायको छुट्टाछुट्टै गुम्बा रहेको छ । दुवै समुदायले आफ्नो गुम्बामा समान्य पुजापाठ गरेपनि प्रवचन भने एकैठाउँमा हुने दुलेगौंडा गणपते तमु समाजका अध्यक्ष जितबहादुर गुरुङले बताए ।

























