• विजय अधिकारी( संवाददाता) लमजुङ,१६ बैशाख २०८२ मङ्गलवार । लमजुङको मध्यनेपाल नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरे पछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरू खुल्न थालेका छन् ।


मध्यनेपाल नगरपालिकाले नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी शिक्षक आन्दोलनका कारण बन्द विद्यालयहरू बैशाख १५ गते सोमबार देखि सुचारु गर्न विद्यालयलाई परिपत्र गरेको थियो । नगरपालिकाको पत्र पाएपछि सोमबार ३ वटा ठूला माध्यामिक विद्यालयहरू खुलेका छन् ।
खुलेका विद्यालयमा मध्यनेपालको दुई पिल्लेस्थित भैरवकाली मा.वि.,भोर्लेटारको ईशानेश्वर मा.वि.र करापुटारको कुशुमाकर मा.वि.रहेको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव रुद्रनारायण सापकोटाले प्रहार समाचारलाई जानकारी दिए ।

शाखा प्रमुख सापकोटाका अनुसार-पालिका भित्रका विद्यालयहरू सँगको सहमतिमा बैशाख १७ गते बाट कक्षा ८ को पुरक परीक्षा सञ्चालन गर्न परीक्षा तालिका समेत सार्वजनिक गरिएको छ । उनले भने – ‘विद्यालय लामो समय बन्द हुँदा अभिभावक र विद्यार्थीहरू आत्तिन थाले । शिक्षकको आन्दोलनलाई पनि असर नहोस्,अभिभावक र विद्यार्थीलाई पनि मर्का नपरोस भनेर समन्वय गरिरहेका छौं ।’
नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले जारी गरेको परिपत्रमा नयाँ शैक्षिक सत्र २०८२ सुरु भएको दुई हप्ता भइसक्दा पनि विद्यार्थी भर्ना अभियान र पठनपाठन रोकिँदा अभिभावक, विद्यार्थी र सरोकारवालाहरूको गुनासो बढ्दै गएकोले नगरपालिकाको ध्यानाकर्षण भएको र स्थानीय सरकार शिक्षाका सवालमा जिम्मेवार रहेको जनाउँदै नगरपालिकाले पठनपाठनलाई नियमित गर्नु पर्नेमा जोड दिएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको जायज मागहरू यथाशीघ्र पूरा गरी उनीहरूलाई कार्यस्थलमा फर्काउन आवश्यक कार्यहरू गर्न समेत नेपाल सरकार लगायत सम्बद्ध सबै सरोकारवालाहरू समक्ष नगरपालिकाले अनुरोध गरेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवन उपयोगी, प्रतिस्पर्धी एवम् गुणस्तरयुक्त बनाउने लक्ष्य दिएकोमा सिङ्गो शैक्षिक प्रणालीमा पार्नसक्ने नकरात्मक असरलाई मध्यनजर गरी सोमबार देखि विद्यालय सञ्चालन गर्न सरोकारवाला सबै पक्षलाई नगरपालिकाले आग्रह गरेको मेयर रमेशकुमार पाण्डेले बताए ।

त्यस्तै कुशुमाकर मा.वि.का प्रधानाध्यापक ध्रुवराज घिमिरेले अभिभावक र विद्यार्थीको गुनासो र नगरपालिकाको परिपत्र पछि विद्यालय सुचारु गर्न बाध्य भएको बताए ।
घिमिरेले सोमबार देखि भर्ना कार्यक्रम गर्ने र विद्यार्थीलाई सान्त्वना दिने काम गरिएको ,आन्दोलन र विद्यालयलाई सँगसँगै लैजाने गरी व्यवस्था मिलाउने केही साथीहरू आन्दोलनमा छन् केहीले विद्यालय चलाउने सोचेको जानकारी दिए। सो नगरपालिकामा प्रारम्भिक बाल शिक्षा,आधारभूत तह र माध्यामिक तह गरी ४३ वटा विद्यालय रहेका छन् ।


















