प्रहार समाचार । काठमाडौँ, १५ मंसिर २०८१ शनिवार । नेपालमा पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रूपम हुन गइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुन लागेको पहिलो खेल आज दिउँसो साढे १२ बजेबाट शुरू हुने क्यानले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् ।
देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको एनपीएलको उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको क्यानले जनाएको छ । क्यानले उद्घाटन खेलका लागि भीआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ ।
खेलमा सहभागी हुन हिंजो नै भारतीय क्रिकेटर शिखर धवन लगायत न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन समेत नेपाल आइसकेका छन् भने कोहि आउने क्रम जारिरहेको छ। पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न पहिलो पटक नेपाल आइपुगेका छन्। उनलाई त्रिभूवन अन्तराष्टिय विमानस्थलमा नेपाली ढाकाटोपी लगाएर तथा पञ्चे बाजा बजाएर स्वागत गरिएको थियो ।

प्रख्यात विदेशी क्रिकेटरको उपस्थिति,करोडौंको लगानी, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिले एनपीएलले निकै चर्चा बटुलेको छ ।
एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाउने भएका छन्।
हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध भइसकेका छन् । प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
























