• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । कास्की , १० मंसिर २०८१ सोमवार । कास्कीको पोखरा महानगरपालिका -१२,ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य विमा कार्यक्रम सुरु गर्ने भएको छ।

सामुदायिक विद्यालयहरु प्रति अभिभावकको आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्ष देखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गर्न लागिएको पोखरा महानगरपालिका वडा नम्बर -१२,का वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
बास्तोला स्वास्थ्य बिमा कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने र सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यार्थी आकर्षण बढाउने लक्ष्य रहेको बताउँछन् । उनेले वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको विमा गर्ने बताए ।
वडामा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी हरु पढ्छन् । पारिवारिक विमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडा वासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा वडाले लिएको वडा कार्यालयले जनाएको छ।

चालु आर्थिक २०८१/०८२ मा विमा कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक ३ हजार ५ सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले १ लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । विमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।

विमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताए ।
वडाले चालू आर्थिक वर्ष देखी सामुदायिक विद्यालयहरुमा “संस्कार शिक्षा पाठ्यक्रम”लागु गर्ने भएको पनि वडाले जनाएको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागु गरिने छ । ‘वडा भित्र रहेका अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्न गृहकार्य भइरहेको छ , हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’ अध्यक्ष बास्तोलाले भने ।
























