प्रहार समाचार । नेपाली लेखक संघ तनहुँको आयोजनामा शनिबार सर्जक ब्रह्मदत्त वाग्लेद्वारा सृजित ‘उपहार ‘ कविता संग्रहको एक कार्यक्रम बिच लोकार्पण गरिएको छ।

उक्त कविता संग्रहको लोकार्पण गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समयमा सम्पन्न तथा बौद्धिक व्यक्तिहरू देश छाडेर विदेशमा नै बस्ने प्रवृत्ति बढेको चर्चा गर्दै स्वदेशमा नै बस्नुपर्छ भन्ने सन्देश साहित्यकारहरुले आफ्ना सृजना बाट दिनु पर्ने बताए । नगर प्रमुख न्यौपाने भने – “विदेश पलायन हुनु दुःखद कुरा हो । गाउँ शहर रित्तिन थाले । स्वदेश भित्रै सम्भावनाको खोजी गरौँ” ।

कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँकी अध्यक्ष एवं नेपाली लेखक संघकी केन्द्रिय सदस्य गौकुमारी न्यौपानेले साहित्यले देश ,काल र परिस्थिति अनुसार समाजलाई सकारात्मक गोरेटो तर्फ डोऱ्याउनुपर्ने बताईन् ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सदस्य एवं नेपाली लेखक संघ तनहुँका संस्थापक अध्यक्ष कमलामोहन वाग्लेले साहित्य समाजको ऐना भएकाले यसको विकासमा सबै लाग्नुपर्ने बताए ।
नेपाली लेखक संघका केन्द्रीय प्रतिनिधि प्रदिप घिमिरेले वाग्लेका कविताग्रहमा संग्रहित कविताहरुले समाज परिवर्तन र देश सञ्चालन गर्नेहरुलाई सोच्न बाध्य पार्ने बताए ।
तनहुँमा जन्मेर हाल बेल्जियममा बसोबास गरेका “उपहार” कविता संग्रहका सर्जक कवि ब्रहम्म दत्त वाग्लले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताए । जन्म भूमि छाडेर विदेसिनु धेरै नेपालीको रहर नभएर बाध्यता रहेको बताउँदै आफ्ना कविताहरु सुनाएका थिए । स्रष्टा वाग्लेले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिँदै सङ्ग्रह प्रकाशित गर्ने सोच रहेको बताए ।

६३ वटा कविता ममेटिएको कविता संग्रह माथि समिक्षकहरु सहप्राध्यापकद्धय सिता भट्टराई, नारायणी अधिकारी, र शिक्षक तथा साहित्यकार रुपा घिमिरेले कवितामा यर्थाथता र जीवन भोगाइका अनभुव भएकोले सबैको जीवनसँग कहिन कही मेल खाने रहेको औल्याए ।

नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शङ्करराज नहर्कीले सभापतित्वको आसनबाट बोल्दै कविता संग्रहमा परदेशमा भेग्नु परेका पिडा, सामाजिक कुरिति, देश प्रेम, देश संञ्चालन गर्ने नेत्तृत्व प्रतिको आक्रोश ‘उपहार’ मा समेटिएको बताए ।
कार्यक्रममा सत्यवती मा वि का प्रअ पुष्पकला भट्टराई ,गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका उपाध्यक्ष सङ्गम सापकोटा, साहित्यकारहरु केशव घिमिरे, मधुमाया घिमिरे, विष्णु भण्डारी, भवानी खनाल, पार्वती खनाल वाग्ले लगायतले यस कविता सङ्ग्रहमा देश दुःखेको चिन्ता र समृद्धिको अपेक्षा गरिएको भाव रहेको उल्लेख गर्दै कविले आगामी दिनमा लेखनलाई निरन्तरता दिन आग्रह गरे ।

संघका सचिव अञ्जना तिमल्सेनाद्वारा सहजिकृत कार्यक्रममा व्यास ५ मा रहेको जलेश्वर भजन समूहका संयोजक तेजप्रसाद लामिछानेको नेत्तृत्वमा भजन प्रस्तुत गरिएको थियो।

कविता सङ्ग्रहको प्रकाशक चितवन साहित्य परिषद् रहेको छ।

























