प्रहार समाचार । बङ्गलादेश ४ साउन २०८१ शुक्रबार । बंङ्गलादेशमा आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् ।

देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।
यसैबीच, प्रदर्शनका क्रममा बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा हिजो दिउँसो आगलागी हुँदा धेरै मानिस त्यहाँ फसेका छन् । आगो निभाउन समयमा दमकल पनि नआएको र सुरक्षाकर्मीले पनि आवश्यक सहयोग नगरेको बिटिभीका अध्यक्षले बताएका खबरमा उल्लेख छ ।
गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन शुरु भएको हो ।
























