•विजय अधिकारी/ लमजुङ १ साउन २०८१ मंगलबार ।अविरल बर्षाका कारण बाढिले सडक बगाउँदा लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-११ मा रहेका तीन गाउँ लामो समय देखि सडक यातायात सुबिधा बाट बन्चित भएका छन् ।

लमजुङको बेसीशहर – १, उदिपुरबाट रिठ्ठेबगर हुदै लमजुङकै बेसीशहर -११ को बजारखुट्टा , बुढी कुवा र बरबोट जोडने सडक भत्किएर सडकमा मर्श्याङ्दी बगेको कारण यी तीन बस्ती सडक यातायात सुबिधा बाट बन्चित भएको स्थानीय बताउछन ।
बेसीशहर नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयले सदरमुकाम बेसीशहरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष शिव प्रसाद जोशीले तीन वटा गाउँ नै सडक यातायात सुबिधा बाट बन्चित भए पछी समस्याका बारेमा नेपाल विधुत प्राधिकरण , जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा अनुरोध गर्दा समेत संबंधित निकायले चासो नदिएको गुनासो गर्दै पत्रकार सम्मेलन गरि सबै माझ समस्या अवगत गराएको जानकारी दिए ।

मध्यमर्श्याङ्दी जलविद्युत आयोजनाले आफु खुशी कुनै सूचना विना विद्युत उत्पादन बन्द गरेर बाढी छोडदा करिब डेढ किलोमीटर सडक क्षतबिक्षत बनाएको छ । जलविद्युत आयोजनाको जलाशय बाट करिब आठ सय मिटर माथि केही चुच्चो परेको भुभागमा रहेका दुई घर जलाशयको कटानले जोखिममा परेका र उक्त घरलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए ।

पत्रकार सम्मेलन कार्यक्रममा स्थानीय सुनिल तिवारी र रुद्रनिधि तिवारीले आफुहरुको घर पहिरोको जोखिममा परेकाले घरवास स्थानान्तरण गरिदिन अनुरोध गरेका छन । स्थानीय सुनिल तिवारीले भने “मेरो त गोठ र शौचालय पहिरोले बगाइ सकेको छ । हामी घरमा वस्न सकेका छैनौ । छोराछोरीलाई पनि छिमेकीको घरमा राख्न बाध्य भएका छौ । यस्तो समस्या कति दिन झेल्नु पर्ने हो ।”

सडक यातायात सुविधा बाट बन्चित भएका त्यस क्षेत्रका बासिन्दालाई विद्यालयमा पठनपाठन गर्न जान आउन , एम्बुलेन्सबाट विरामी ल्याउन लैजान , खाद्यान्न लगाएत अति आबस्यक सामान ढुवानी गर्न समेतमा जटिल समस्या आएको अध्यक्ष जोशीको भनाइ छ

जोशीका अनुसार रिठ्ठेबगरको पुलबाट करीब एक किलोमिटर माथि नेपाली सेनाको ब्यारेक छ । ब्यारेकको अगाडि घुम्तीमा ढुङ्गा गिटी लगायत नदिजन्य पदार्थ थुपारेको ठुलो ढिस्को छ । उक्त ढिस्कोमा मर्श्याङ्दी नदिको बहाब ठोक्किएर सडक तिर आए पछी सडक बगाएको हो ।

बेसीशहर वडा नम्बर ११ को कार्यालयले उक्त नदिजन्य पदार्थको ढिस्को हटाइ पानीको बहाबलाई यथास्थानमा पुर्याउन पत्राचार गरेको थियो । बेसीशहर नगर कार्यपालिकाको बैठकले पनि उक्त नदिजन्य पदार्थको ढिस्को फाली पानीको बहाबलाई यथास्थानमा पुर्याउन जिल्ला विपद व्यवस्थापन समितिलाई पत्र पठाएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिले उक्त समस्या समाधानका लागि मध्यमर्श्याङ्दी जलविद्युत परियोजनामा पत्र पठाएकोमा परियोजनाले आफ्नो तरिकाले एक समिति बनाइ उक्त ढिस्कोले केही असार नपार्ने भएको कारण ढिस्को फाल्न नपर्ने बरु सडक नै सार्नुपर्ने जस्तो गलत प्रतिवेदन पेश गरेपछि आफू लगाएत स्थानीय वसिन्दा क्रुद्ध भएको जोशीले बताए । उनले भने – ‘समितिले एक लौटी र मनपरि रूपमा प्रतिवेदन तयार पारेको र सोही ढिस्कोका कारण सडकलाई नदिले कटान गर्दा यातायातनै बन्द भएको र चालू आ.व.मा गण्डकी प्रदेश सरकारको सहयोगमा नदि किनारमा बनाएको तारजाली सहितको तटबन्धन समेतमा क्षति पुगि जोखिम बढाएको छ।’
नेपाल विधुत प्राधिकरणले मध्यमर्श्याङ्दीको ड्याम्म साइटमा चार मेगावाटको सोलार प्यानल निर्माणकार्य गर्न लागेको छ । उक्त सडक निर्माण गर्नका लागि पनि प्राधिकरणलाई पक्की सडक अवस्यक पर्ने भएकोले सो सडक निर्माण नगरे सम्म परियोजना सञ्चालन गर्न नदिने स्थानीयले चेतावनी दिएका छन् ।
स्थानीयले सडक नबन्दा सम्म सर्वसाधारणको लागि आवत जावत गर्न बन्द गरिएका जलविद्युत आयोजनामा रहेको दुईवटा मोटरेवल पुल मध्य कम्तीमा एउटा पुल बाट आवत,जावत गर्न दिने गरि व्यवस्था मिलाउन वा रिठ्ठेबगर देखि बुढिकुवा सम्म पक्की सडक निर्माण गरिदिन माग गर्दै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङ र बेसीशहर नगरपालिका का प्रमुख मेयर गुमानसिंह अर्याललाई समेत प्रेस विज्ञप्ति बुझाएका छन् ।
जलविद्युत परियोजनाको जलाशयले कटान गरेपछि जोखिममा परेका दुई घरका तिवारी परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने समेत स्थानीयले माग गरेका छन् ।

























