प्रहार समाचार । काठमाडौँ १ साउन २०८१ मंगलबार । पशुपतिनाथ मन्दिर परिसरमा यस वर्ष साउन महिनामा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्र हुने भएको छ।

होम, शिवपुराण लगायत साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।
विगत वर्षमा भन्दा यो बर्ष अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता अधिकारीले बताए । साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उनको भनाई छ। साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको छ।
हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

























