प्रहार समाचार । पोखरा २८ असार २०८१ शुक्रबार ।गएराती परेको अविरल वर्षापछि आएको पोहिरोले पुरिएर पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको पहिरोमा पुरिएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो बिहीवार राति १०ः३० बजे परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् । मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको बताए ।पहिरोमा बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
























