
आदिकवि भानुभक्त आचर्य नेपाली साहित्यका मूर्धन्य व्यक्ति हुनुहुन्छ । वि.सं. १८७१ साल असार २९ गतेका दिन चुँदी रम्घामा उहाँको जन्म भएको हो । भानुभक्त आचर्य श्रीकृष्ण आचर्यका नाती र धनञ्जय आचर्यका पुत्ररत्न हुनु हुन्छ । भानुभक्त आचर्यको मामाली घर लम्जुङ जिल्लाको भोर्लेटारमा पर्दथ्यो । उहाँ प्रायस मामा घर जाने आउने गरि रहनुहुन्थ्यो । प्रायस भानुभक्त कहिलेकांही भानुभक्त ठूलोढुङ्गा बयापानीबाट जिता हुँदै थानसिङ भञ्ज्याङ निस्केर भोर्लेटार जान्थे भने कहिलेकाँही मिर्लुङ ठूलोढुङ्गा भएर दलभञ्ज्याङ कात्तिके पोखरीछाप क्यामिन छापथोक धरमपानीहुँदै साँखुलीकोबेसी निस्कन्थे भने रिस्ती तरे पछि मादिका तिरको पाखाको बाटो हुँदै भोर्लेटार निस्कन्थे । भानुक्तका मामालीहरु भोर्लेटारका रेग्मीहरु हुन् । मावालीका यात्रा बारे भानभक्तका दुइ कविताहरु निम्नानुसार भेटिन्छन् :
क्यामिन साँखुली हुँदै भोर्लेटार निस्कंदाको कविता :
अर्को पटक अर्कैबाटो हिंडेको कविता यसप्रकार छ :
बरभञ्ज्याङ अनि कात्तिके तिरहुँदै पोखरीछापमा ।।
क्यामिनको तल जान्छु साँखुली हुँदै जङ्गल तरुँला जसै।।
भेर्लेटार पुगेर म दिन दुइ विश्राम गरुला जसै।।
म जान्थे भोर्लेटार समय गतीले मावलीकहाँ ।
प¥यो साँझ एक दिन ता मत बीच परें तारुकामहाँ ।।
गजाधर साथी हुन् मकन अघि निम्तो पनि थियो।
गजाधर भित्रै थिया तर मकन खेद्ने स्थिति भयो ।
त्यो दिन भानुभक्त रात साँझगरेर बेसी झरेर गोठमा बास बसेका थिए । त्यही झोकले अर्को पटक मावली जाँदा थानसिङको बाटो गएका हुन् । ( श्रोत ( नेपाल अधिराज्यमा तनहुँ ( डिल्लीराम मिश्र )
जिता थानसिङ हुँदै भोर्लेटार रचिएको कविता यस प्रकार रहेको छ ।
तारुका अब जान्न जान्छु म जान निस्कन्छु थानसिङ अनि ।
पिस्तीका वनबाट जाइरहुँला साँझै परेता पनि ।।
भोर्लेटार म आज जानु छ यसै पुग्ने छु साँझै तिर,।
तारुकातिर भो न जाँ अब जाँ यै बाटो कुन्छा तिर ।।
सा. क्यामिन ७ को बेसी बाटो कुनामा मगरले बनाएका हुनाले यस कुवालाई मगऱ्या कुवा पनि भन्ने गर्दथे । क्यामिन निवासी टेकबहादुर मगरका बाजे खड्का बहादुर ठाडामगरले यस कुवालाइ बनाएका हुन भनिन्छ । रिस्ती खोला पारी लमजुङको सेरोफेरो भित्रको साबिक रम्घा ७ को चौरमा आराम गर्न बनाइएको एउटा चौतारो थियो । मामाली घर जाने आउने क्रममा एक पटक उहाँ रम्घा गाउँ विकास समिति वडा नं. ७ हाल मध्यनेपाल नगरपालिकाको खड्गे ठाडा चौतारो ( हाल : भानु घाँसी संवाद चौतारो ) पातलमा बसेर आरम गरिरहेका थिए । सोही चौतारो बसेर घाँसीले हंसिया उधाएर घाँसपात गर्दथे ।
सोही बेला भानुभक्त आचर्यको घाँसी खड्गबहादुर मगरसँग भेटघाट हुन पुग्यो । घांसीबाट शिक्षा प्राप्त गरेका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा र फूटकर कविताहरुको रचना गरेर उहाँले नेपाली साहित्यमा भण्डारण गर्नु भएको हो ।
तनहुँ जिल्लाकै व्यास नगरपालिकाको वडा नं. १२ र व्यास वडा नं ७ मा दुबै स्थानमा घांसीकुवा नामक स्थानहरु रहेका छन । व्यास नगरपालिका वडा नंं ११ पोल्याङ भन्दा पूर्व बुल्दी खोलाको पारी रहेको पृथ्वी राजमार्ग सँगै सटेर घासिकुवा रहेको छ । पृथ्वी राजमार्ग खन्ने बेलामा यो घाँसी कुवा हो भनेर यस स्थानको बढी प्रचारप्रसारमा आएको हो । त्यो बेला यो स्थान कर्लुङ गाउँ पञ्चायतमा पर्दथ्यो । पृथ्वीराजमार्ग संगसंगै सटेको घांसीकुवा नामले प्रख्याती पाए पछि वि.सं. २०३२ साल तिर कर्लुङ गाउँपञ्चायतले घाँसीकुवा गाउँपालिकाको नाम प्राप्त गरेको थियो । आखिर दुबै घाँंसीकुवा तनहुँ जिल्लाको व्यास नगरपालिका भित्र पर्दछन् । दमौलीको मुसेखोला एवं बुल्दीखोला दोभान नजिकको घाँसीकुवाको बारेमा कुनै पनि पाठ्यक्रममा समावेश भएको पाईंदैन तथापि जिल्लाको सदरमुकाम दमौली बजारबाट ५ किलोमिटर भित्र भएकै कारण यसैले महत्व प्राप्त गर्दै गएको छ । नेपालको राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ पूर्वको जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेको कक्षा ४ मा पढाइने महेन्द्रमाला नामक पुस्तकमा आदिकवि भानुभक्त, घाँसकुवा र घाँसी सम्वादको विषय उठान गरेको पाउँदछौं । यसै गरी रिस्ती खोलाको लमजुङ तर्फको किनारमा रहेको चौतारामा भानुभक्त विश्राम गरेका र घाँसी सित सम्बाद भएको कुरामा जोड दिएको पाउँदछौं । वि.सं.२०५५ साल जेष्ठ २ गतेको शनिवासरीय परिशिष्टाङ्कको पृष्ठ “ग” मा मुक्तिनाथ घिमिरेले पनि रिस्ती खोलामा रहेको घाँसीकुवा नै असली घाँसीकुवा भएको दावी गर्नु भएको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट १६ किलोमिटर टाढा लमजुङ जिल्लाको सिमानामा भएकै कारण क्यामिनको रिस्ती खोलामा अवस्थित घाँसीकुवा ओझेलमा पर्न गएको छ । जे होस नेपालका आदिकवि भानुभक्त आचर्य र घाँसीको सम्वाद भएको वास्तविक घाँसीकुवा कुन चांँही सही हो भन्ने विषयमा व्यासनगरपालिका तनहुँले सही निक्र्यौल गर्नै पर्ने बेला आएको छ ।
अन्त्यमा जहाँ जे जस्तो अवस्थामा घाँसी कुवाको कुराहरु उठान भएता पनि सबैलाई हाम्रै सम्पती सम्झेर घाँसीकुवाको संरक्षण संबर्धन गर्नमा स्थानीय सरकारहरुको ध्यान पुगोस यही शुभेच्छा छ ।
तनहुँ । ( बस्न्यात ऐतिहासिक, तथा अनुसन्धानमूलक अग्रज लेखक हुन् । )


























