प्रहार समाचार । तनहुँ, बैशाख १७ । तनहुँको व्यास नगर पालिका वडा नं–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने परासर मार्गमा कालोपत्रे र पक्की नाला निर्माण हुने भएको छ।
आइतबार निर्माण कम्पनी बिकेएचटिडिसिएल–एसिपिएल जेभीका प्रतिनिधी जेबिन बिक्रम शाही र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीबीच सम्झौता भएको हो ।

पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, बेल्टारी, फराकचौर , अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) सोढे १० किलोमिटर दूरीमा कालोपत्रे, पक्की नाला तथा अन्य स्टक्चर निर्माण हुने भएको हो ।
व्यास नगरपालिकाको गौरवको अयोजनाको रूपमा लिईएको यस आयोजना विश्व बैंकको अनुदान सहयोगमा शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्रगत उक्त काम हुने भएको हो। ‘ ‘चार वडालाई जोड्ने गरी रिङरोड निर्माण गर्ने भनेर आफ्नो अघिल्लो कार्यकालमा नै शुभारम्भ भएपनि लामो र झण्झटिलो प्रक्रियाका कारण अहिले आएर सम्झौता भएको छ’ । नगरप्रमुख बैकुष्ठ न्यौपानेले प्रहार समाचारलाई बताए । ‘१ किलोमिटर पिच गर्न झण्डै ५ कोडको हाराहारीमा यहि असार मसान्त भित्र सम्पर्न गर्ने सम्झौता भएको छ र सम्पन्न हुन्छ’ मेयर न्यौपानेले भने ।
भ्याटसहित रु.४० करोड त्रियासी लाख पैतिस हजार नौ सय एक्काइसको लागतमा निर्माण कम्पनीले ठेक्का पाएको र २०८२ असारसम्ममा आयोजना सम्पन्न हुने व्यास नगरपालिकाका सिनियर इन्जिनियर डा.राजु पौडेलले जानकारी दिए ।
उक्त मार्ग पश्चिम लमजुङ,कास्कीको पूर्वी भेग र तनहुँको उत्तरी भेगका गरी हजारौं मानिस लाभान्वित हुनेछन् । कन्सल्टेन्डको रुपमा बिओटीइके–जिओइसी जेभी काठमाण्डौं रहेको छ । उक्त योजनाबाट बाँकी रहेको करिब रु.२२ करोड रकम अर्को प्राथामिकताको योजनामा लगानी गर्न शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।
कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् भने कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ । भ्याटसहित रु.४० करोड असीलाखमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको हो। विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रिया अघि बढाएको थियो । विश्व बैंकको मापदण्डअनुसार एक किमीका लागि चार करोड खर्च गरी गुणस्तरीय सडक निर्माण गर्ने योजना रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए ।



























