प्रहार समाचार । तनहुँ ,वैशाख १६ । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जिल्लामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक/ कर्मचारीलाई कारबाही गर्न जिल्ला स्थित सम्पूर्ण विद्यालयहरूलाई पत्राचार गरेको छ। इकाइको पत्र यस्तो छ :

आइतबार इकाइको पत्र संङ्ख्या २०८०/ ८१, च.नं. ११८५ को पत्रमा जिल्ल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई पत्रचार गरिएको इकाइ प्रमुख ( उपसचिव ) उद्धवराज कट्टेलले बताए ।
सामुदायिक विद्यालयमा कार्यरत कुनै पनि शिक्षकले शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा ५ को खण्ड ६ मा रहेको कानुनी व्यवस्था र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको उपरोक्त बमोजिम आदेश विपरीत राजनीतिकदलको सदस्यता लिने कार्यकारिणी समितिमा रहने , महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्नु नगराउनु हुन तथा त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत इकाई प्रमुख कटेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। जसको बोधार्थ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार ,काठमाडौँ , शिक्षा मानव तथा स्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखा , सानोठिमी भक्तपुर र तनहुँ जिल्ला स्थित स्थानीय तहका सबैलाई आवश्यक सहयोग र सहजीकरणका लागि पनि इकाइले अनुरोध गरेको छ।
यो अनुरोध सँगै जिल्लामा रहेका विभिन्न राजनीतिक दलका विभिन्न तह र तप्कामा रहेका शिक्षकहरूमा भने खैलाबैला उत्पन्न हुन पुगेको छ। यस निर्णयसँगै अब राजनीति गर्ने या राजनीतिलाई छोडेर शिक्षण पेशामा आबद्धता रहने दुविधामा शिक्षकहरु परेको बताइन्छ । कतिपय शिक्षकहरु राजनीतिक दलको क्रियाशिल सदस्य, जिल्ला सदस्य लगायतका पदहरूमा रहेको पाइएको छ। यससँगै विद्यालयले र स्थानीय पालिकाहरूले ती शिक्षकहरुलाई कारबाही गर्छन् ? गर्न सक्छन् ? कि कारबाहि नै गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ। हेरौं इकाइको पत्र :



























