साहित्यप्रदेश

कविता : अकविताभित्रको कविता

माल्थसको नियमजस्तै
अक्षरका गुणनफल निकाल्दा निकाल्दै
एउटा चरमा गएर टुङिन्छ शब्दयात्रा
र बनिदिन्छ
एउटा अकविता
भारी मनको
गुजुल्टोमा जेलिन्छ
गाँठो बनेर
थोरै ऐठन बनेर
अलिकति वितृष्णा बनेर

बाँध फुट्छ मनको
अनियंत्रित झोँकाहरुले
गहिर्‍याएर जगैदेखि गर्लम्म ढालेर
नामोनिसान नराखेर
लगाइएका तार जाली शक्तिहीन बन्दै जान्छन्
उप्किएर घाउको पाप्राझै
ढल्दछ एउटा चिरकालीन खम्बा

ठिङ्ग उभिन्छ प्रश्न
र बन्दछ
अकविताभित्रको कविता

शिथिल  बिम्बहरु
उर्कुसी मारेर उभिन खोज्दाखोज्दै
घप्लक्क घोप्टिन्छ
मझेरीमा
चित्र बन्दछ!
आहात बनेर
हुर्कन्छ पिलो बनेर
चहराउन थाल्दछ छाती
अनि
पोल्न थाल्दछ मुटु
चिराग बन्दछ मौन स्पर्श
अनि
बन्दछ अकविताभित्रको  कविता
क्यानभासमा कोरिएका सचित्रसहित।

विश्व कविता दिवसको हार्दिक शुभकामना सबैसबैमा ।।।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button