प्रहार समाचार । तनहुँ, माघ २७ शनिवार ।तनहुँको व्यास नगरपालिका वडा नं- १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा ‘आफ्नो सफलताको कथा अरुलाई पनि सुनाऔं’ कार्यक्रम श्रृङ्खला सुरु गरिएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनशील र उद्यमशील बन्न थप प्रेरणा र हौसला दिलाउने उद्देश्यले उक्त श्रृङ्खला सुरु गरिएको हो। मासिक रूपमा सञ्चालन हुने यस कार्यक्रम श्रृङ्खलामा क्याम्पसबाट अध्ययन सम्पन्न गरेका पूर्व विद्यार्थी वा सामाजिक एवं व्यावसायिक जीवनमा सफल एवं उदाहरणीय काम गरेका, पेशा व्यवसायमा उच्च दक्षता हासिल गरेका व्यक्तित्वहरुलाई आमन्त्रण गरिने छ । यसै श्रृङ्खलाको पहिलो कार्यक्रम हिंजो क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ।

पहिलो श्रृङ्खलामा क्याम्पसका पूर्व विद्यार्थी कृष्णप्रसाद अधिकारीलाई आमन्त्रण गरिएको थियो। उनिले त्रिवि व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा हालै विविएस तह उतृण गरेका थिए । उनी स्नातक तहको चौथो वर्षको अन्तिम परीक्षा दिएर नतिजा प्रकाशन नहुँदासम्मको बीचको चार महिनामा लोकसेवा आयोगबाट नागरिक लगानी कोषका लागि लिइएको पाँचौं तहको परीक्षामा प्रथम हुन सफल भएका थिए । उक्त अवसरमा उनीले क्याम्पसमा अध्ययनरत स्नातक तहका बिआइसिटी कार्यक्रम र विविएस कार्यक्रमका विद्यार्थी र प्राध्यापकहरुलाई आफ्ना परिचय, विगतको सङ्घर्ष, सफलताको रहस्य र भावी योजनाका सुनाएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेकै कारण दैलेख जिल्लाको दुर्गम भागको एक गाउँबाटबाट काम गर्दै उच्च शिक्षाको अध्ययन गर्ने अवसरको खोजीमा भारतका सहरहरूमा भौतारिँदै स्वदेश फर्केर तनहुँको सदरमुकाम दमौली आइपुगेका कृष्णप्रसाद अधिकारीले आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्ने क्रममा संघर्षपूर्ण भोगाई सुनाएका थिए।

सफलताको कथा सुनाउने क्रममा आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ र १२ देखि स्नातक तहको अध्ययन पूरा गर्न स्थानीय समाजसेवी एवं पूर्व क्याम्पस सञ्चालक समितिका सदस्य ई. ध्रुव पण्डितको परिवारले गरेको सहयोगको प्रति उनले आभार व्यक्त गरेका थिए। स्थानीय होटल र पूर्वाधार निर्माण क्षेत्रमा श्रमिकको रूपमा काम गरेका उनीले लक्ष्य चुम्नको लागि आफूमाथि आत्मविश्वास र मेहनत जरुरी रहेको बताएका थिए। उनले गरेको चार महिनाको तयारीमा लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरेका थिए। कार्यक्रममा उनको कथा सुन्न उपस्थित विद्यार्थीहरूलाई अध्ययनलाई निरन्तरता दिन, आफ्नो अध्ययनका स्रोतहरूलाई विस्तार गर्न, विश्लेषण र लेखन सीपलाई ग्रहण गर्नर समयको महत्वलाई बुझ्न सुझाएका थिए। उनीले लेखन सिप र अध्ययनकलाका बारेमा आफूले क्याम्पस भन्दा बाहिरको अनौपचारिक अध्ययनबाट ज्ञान हासिल गरेको बताएका थिए। हाल आफू आफ्नो भावी लक्ष्य लोकसेवा आयोगबाट अधिकृत स्तरको परीक्षामा नाम निकाल्न अध्ययनमा व्यस्त रहेको बताएका थिए । आफ्नो मन्तव्यको अन्त्यमा उनले आफ्नो गुरुहरू र आफ्नो अध्ययनमा सहयोग गर्ने शुभचिन्तक र साथी सहयोगी प्रति आभार व्यक्त गरेका थिए।

क्याम्पसको विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापन समितिका अध्यक्ष बिमल खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद अधिकारीले क्याम्पसका तर्फबाट अधिकारीलाई स्वागत एवं सम्मान गरेका थिए ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल आन्तरिक गुणस्तर मूल्याङ्कन समिति प्रमुख विश्वेश्वर तिमल्सेना, पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका उपसभापति चिरञ्जीवी बस्नेत, व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख एवं पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकी प्रदेशका संयोजक बिमल गिरी लगायत प्राध्यापक एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगरले गरेकी थिइन ।


























