प्रदार समाचार । तनहुँ, माघ २६ शुक्रवार । तनहुँको व्यास नगरपालिका- १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा जलवायू परिवर्तन र त्यसले ल्याएका समस्याहरू र परिवर्तित जलवायुमा स्थानीय सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम बिहिवार समान्न भएको छ।
बीएड तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि क्याम्पसको विज्ञान तथा प्रविधि विभागले तयार पारेको पूरक पाठ्यक्रम अथवा नन क्रेडिट कोर्स प्रवोधिकरण तथा पृष्ठपोषण संकलनका लागी कृषिलाई कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बारेमा क्याम्पसको विज्ञान विभागले पुरक पाठ्यक्रम माथि सरोकारवालाहरूलाई जानकारी गराउने तथा उनीहरूको पृष्ठपोषण संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विएड तहमा विज्ञान शिक्षा विषय अध्ययनरत विद्यार्थीहरुलाई सो पाठ्यक्रम अध्ययन गर्ने अवसर प्रदान गरिने तथा नियमित पाठ्यक्रमका अलावा उक्तथप पाठ्यक्रम पढाईनेछ । यसको अध्ययनबाट विद्यार्थीहरूलाई जलवायु परिवर्तन र बदलिँदो जलवायुमा कृषि पेशागत चुनौतीहरूको बारेमा थप सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानका बारेमा छलफल भएको क्याम्पसले जनाएको छ।

उक्त कार्यक्रममा तनहु उद्योग वाणिज्य सङ्घ जिल्ला जिल्ला अध्यक्ष बैकुण्ठ मिश्रले अहिलेका युवा विद्यार्थीहरूले कि त जागिरे मानसिकता राख्ने कि भने विदेश ताक्ने गरेको र ती युवा विद्यार्थीहरूका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास गराउनु पर्ने बताए । मिश्रले स्वदेशमै संघर्षरत सफल व्यवसायी, किसान, उद्योगी र व्यापारीहरुसँग विद्यार्थीहरूको साक्षात्कार गराउने किसिमका कार्यक्रम राख्ने र सोही समेटेर पाठ्यक्रमहरू अध्यापन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला महिला व्यवसायी सङ्घका सचिव बिमला श्रेष्ठ र दमौली बजार ईकाई अध्यक्ष एवं क्याम्पसका पूर्व विद्यार्थी सुक नारायण मल्लले पनि आफ्नो जीवनको अनुभव साटासाट गरेका थिए ।कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी एवं व्यावसायिक माछापालक किसान ध्रुव भण्डारीले माछा पालन व्यवसायका अवसर र चुनौतीहरूको बारेमा आफ्नो भोगाइ एवं विचार सुनाएका थिए ।

सफल बाख्रा पालन व्यवसायी र हाल निजामती सेवामा अधिकृत स्तरमा कार्यरत क्याम्पसका पूर्व विद्यार्थी व्यास-१० निवासी नारायण अधिकारीले बाख्रापालन व्यवसाय गर्नु अघि ध्यान दिनुपर्ने विषयहरू त्यस व्यवसायको बजार र चुनौतीहरूका बारेमा सहभागीहरुलाई अनुभव सहित को जानकारी गराएका थिए ।दुग्ध व्यवसायी एवं क्याम्पस सञ्चालक समितिका सदस्य सिर्जना तिवारीले दुग्ध व्यवसायमा लाग्नका लागि विद्यार्थीहरुलाई प्रेरणा दिँदै त्यस व्यवसायमा लाग्दा ध्यान दिनुपर्ने कुराहरू आफ्नो अनुभव व्यक्त गरेकी थिइन ।
तीन घार मौरीबाट मौरी पालन व्यावसाय सुरु गरेका सफल मौरीपालक किसान रामनाथ भट्टराईले सयौं मौरी घारहरू तयार गरी व्यावसायिक मौरी पालनमा आफूलाई प्रवर्धन गर्दा विगतदेखि वर्तमानसम्मआफ्नो अनुभव विद्यार्थीहरूलाई सुनाउँदा विद्यार्थीहरु दङ्ग परेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थले प्रस्तुत गरिएको पूरक पाठ्यक्रम माथि टिप्पणी गर्दै पुरक पाठ्यक्रमले विद्यार्थीको ज्ञान र सीपमा निखार ल्याउन सहयोग गर्ने विश्वास व्याक्त गरे ।
कार्यक्रम क्याम्पसको पूरक पाठ्यक्रम व्यवस्थापन समितिका अध्यक्ष एवं सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूरक पाठ्यक्रमको औचित्य माथि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रकाश पारेका थिए भने विज्ञान तथा प्रविधि विभागका विभागीय प्रमुख राजन घिमिरे, पूरक पाठ्यक्रमका विज्ञहरू प्राध्यापकहरु रूपक श्रेष्ठ उप प्रकाश गैरे र सरला देवकोटाले पाठ्यक्रमको हाइलाइट प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा सञ्चालक समितिका सदस्य एवं जलदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मोहन गिरी, सदस्य एवं भादगाउँ खानेपानीका अध्यक्ष चिजबहादुर दरै र सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सदस्य एवं निर्माण समितिका संयोजक क्या. सहवीर उचाइ र सदस्य कल्पना पोख्रेल, सञ्चालक समितिका आमन्त्रित सदस्य क्या. सोमबहादुर थापा, विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ, सहायक क्याम्पस प्रमुख सागर पौडेल, क्याम्पसका नेपाली विभागका विभागीय प्रमुख डा. सुशीलप्रसाद वाग्ले, कसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आले, एविसि विज्ञान क्लबका अध्यक्ष अब्बास मिया र विज्ञान शिक्षा विषयका अध्ययनरत विद्यार्थीहरू समेतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण विज्ञान विषयका उपप्राध्यापक सागर न्यौपानेले गरेका थिए ।


























