हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकासूचना प्रविधि

मुग्लिन–पोखराको पूर्वी खण्डको काम ४४ प्रतिशत : बीस किलोमिटरमा एकतर्फी कालोपत्रे

प्रहार समाचार । तनहुँ, माघ १९ शुक्रवार । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ भने  बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ ।


जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भएकाले र छिटै कालोपत्रे गरिने जनाइएको छ ।

उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको छ। पूर्वीखण्डका लागि  ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ गतेदेखि गरिएको र करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।

पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका रु १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका  छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि  २०७८ भदौदेखि काम सुरु भई  २०८१ भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको छ।  यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको छ। पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा काम सुस्त गतिमा अगाडी बढेकोले जनगुनासो बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button