प्रहार समाचार । काठमाडौँ, माघ १९ शुक्रवार । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली युवा टोलीले आज भारतसँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

हेड टु हेडमा भारत अगाडि छ । भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त हो । यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत विजयी भएको थियो । नेपाल र भारतबीच पछिल्लोपटक सन् १०१६ मा यू-१९ विश्वकपमै भेट भएको थियो । जसमा भारत सात विकेटले विजयी भएको थियो ।

त्यसअघि यू-१९ विश्वकपमै सन् २००० मा नेपाल र भारत भिडेका थिए । जसमा पनि नेपाल भारतसँग आठ विकेटले पराजित भएको थियो । सुपर सिक्सको पहिलो खेलमा बुधबार नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाल सेमिफाइनलमा पुग्ने समीकरणबाट भने बाहिरिसकेको छ ।


























