प्रहार समाचार । तनहुँ, माघ, १८ बिहिवार । राष्ट्रपति रामचन्द्र पौडेलसंग आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समिति लगायतले भेटघाट गरेको छ।
क्याम्पस सल्लाहाकार समिति, प्राध्यापक र विद्यार्थी प्रतिनिधिहरुले राष्ट्रपति कार्यालयमा बुधबार दिउँसो भेटघाट गरेको हो।

उक्त भेटघाटको अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको हालको शैक्षिक भौतिक र आर्थिक अवस्था, यसका असल अभ्यासहरू, चुनौती र अवसरका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए। पूर्वमन्त्री एवं क्याम्पस सञ्चालक समितिका सदस्य डोबाट बिक, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं ब्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले र पूर्व अध्यक्ष समुद्र गोदारको उपस्थिति रहेको थियो।

त्यस अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य केशबहादुर सुनार, समितिका हालका सदस्यहरू होमबहादुर रसाइली, ताराराम श्रेष्ठ ,गोपाल सुर्खाली, सहायक क्याम्पस प्रमुखहरु डा . रामकुमार अधिकारी र सागर पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस इकाइका उपाध्यक्ष चिरंजीवी बस्नेत, अंग्रेजी विभागका प्रमुख बसन्त कडेल, गजेन्द्र पौडेल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति गौरव पन्थ लगायतको उपस्थिति रहेको थियो।


























