प्रहार समाचार । काठमाडौँ , माघ ५ शुक्रबार । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् ।
युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन समेत आग्रह गरे ।


























