प्रहार समाचार । काठमाडौँ, २६ कात्तिक २०८३ बिहीबार । मकवानपुरको भीमफेदीमा भएको भयावह माइक्रोबस दुर्घटनाले एकै परिवारका ६ जनासहित १४ जनाको ज्यान लिएको छ ।

काठमाडौँबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ७०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित २० जना सवार थिए ।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम यादवसहित एउटै परिवारका ६ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् । त्यस्तै, माइक्रोबस चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रवि शङ्कर कुमार मण्डलको पनि मृत्यु भएको छ ।
अन्य तीन मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । एउटै परिवारका सदस्यसहित १४ जनाको ज्यान जाने गरी भएको यस दुर्घटनाले सर्लाहीदेखि मकवानपुरसम्म शोक छाएको छ । ७०० मिटर तल खसेको माइक्रोबस दुर्घटनाले सडक सुरक्षामाथि फेरि गम्भीर प्रश्न खडा गरेको छ ।
























