प्रहार समाचार । काठमाडौं, १० असोज २०८३ शनिबार । नारायणी र सप्तकोशी नदीमा आएको बाढीले पश्चिम नवलपरासीदेखि सप्तरीसम्मको जनजीवन अस्तव्यस्त बनाएको छ । दुई जिल्लाका ३ सय ८९ घरपरिवार बाढीको चपेटामा पर्दा सयौँ विस्थापित भएका छन् ।

पश्चिम नवलपरासीको सुस्ता र सप्तरीका विभिन्न बस्तीमा घरभित्रै बाढी पसेपछि बालबालिका, वृद्धवृद्धा र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणीको बाढीले २ सय ७१ घर तथा गोठ डुबानमा पारेको छ । कतिपय घरमा तीन फिटसम्म पानी पसेको छ भने सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेकसमेत डुबानमा परेको छ । शुक्रबारदेखि बाढी बस्तीमा पस्न थालेपछि दुई दिनमा १ सय ७२ परिवारलाई गाउँकै अग्लो स्थानमा रहेका तीन होल्डिङ सेन्टरमा सारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिए पनि घर, अन्नपात र पशुचौपायाको माया छाड्न नसक्दा धेरै स्थानीय अझै जोखिममै रहेको स्थानीयले बताएका छन् ।

झोलुंगे पुलसम्म पुग्ने कच्ची सडकसमेत डुबेपछि आवतजावतका लागि डुंगाको भर पर्नुपर्ने अवस्था छ ।उता सप्तरीमा पनि सप्तकोशीको बाढीले तटीय बस्तीमा ठूलो क्षति पुर्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेका छन् भने हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडाका करिब २ सय परिवार प्रभावित भएका छन् । गोबरगाढाका ६० घरसहित कोशी तटीय क्षेत्रमा बाढी पसेपछि विस्थापितलाई पश्चिमी तटबन्धमाथि त्रिपाल टाँगेर राखिएको छ । जोखिममा रहेका बालबालिका र वृद्धवृद्धालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सारिएको छ भने स्थानीय तहले चिउरा, भुजा तथा खानपिनको व्यवस्था गरिरहेको जनाएको छ ।

बोदेबरसाइनस्थित सशस्त्र प्रहरीको बीओपीसमेत बाढीको डुबानमा परेको छ । नारायणी र सप्तकोशीको बहाव अझै जोखिमपूर्ण रहेकाले प्रभावित क्षेत्रमा थप डुबानको खतरा कायमै छ । सुस्तामा वर्षौंदेखि दोहोरिँदै आएको डुबान र कटानको समस्या स्थायी समाधान हुन नसकेको स्थानीयको गुनासो छ । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बाढीका बेला उद्धारमा सक्रिय हुने तर हिउँदमा समस्या बिर्सने प्रवृत्तिले सुस्ता सधैं जोखिममा रहेको बताएका छन् । उनका अनुसार सुस्ता जोगाउन कम्तीमा ५ अर्ब रुपैयाँको तटबन्ध आवश्यक छ । उता सप्तकोशी क्षेत्रमा प्रतिसेकेन्ड ३ लाख क्युसेक बहाव पुग्नासाथ बस्तीमा बाढी पस्ने गरेको स्थानीय प्रशासनले जनाएको छ ।





















