हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरको बजेट कार्यान्वयन सुस्त : तीन महिनामा ५.६८ प्रतिशत मात्रै खर्च

प्रहार समाचार । तनहुँ , ९ असोज २०८३ शुक्रबार । आर्थिक वर्षको सुरुवाती तीन महिना बित्न लाग्दा तनहुँको व्यास नगरपालिकाको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ। नगरपालिकाको कुल अनुमानित बजेट १ अर्ब ५६ करोड २४ लाख ८० हजार रुपैयाँ रहेकामा असोज ७ गतेसम्म कुल खर्चको प्रगति ५.६८ प्रतिशतमा सीमित रहेको नगर कार्यपालिकाको बैठकमा जानकारी गराइएको छ।

व्यास नगर कार्यपालिकाको २ सय ४७औँ नियमित बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमान गरिएको बजेटमध्ये असोज ७ गतेसम्म ३२ करोड ४६ लाख ८१ हजार ४१६ रुपैयाँ ३३ पैसा आय प्राप्त भएको छ। सो अवधिमा चालुतर्फ ४.९६ प्रतिशत र पुँजीगततर्फ ७.०६ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ। बैठकले बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै आगामी कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको छ।

यसैबीच, व्यास नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाबीच नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री–वितरणका साथै बारुणयन्त्र र सक्सन मेसिन सेवा सञ्चालनका लागि आवश्यक समझदारीपत्र (एमओयू) गर्ने निर्णय भएको छ। अन्तरपालिका सहकार्यबाट स्रोत व्यवस्थापन तथा विपद् व्यवस्थापनका क्षेत्रमा सेवा प्रभावकारी बनाउने उद्देश्यले सम्झौता प्रक्रिया अघि बढाइने भएको हो। बैठकले व्यास नगरपालिका–१० मा निर्माणाधीन नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८३ पारित गरेको छ। त्यस्तै, नगरअन्तर्गतका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक लागत अनुमान तयार गरी असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमार्फत माग पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

अति वर्षाको सम्भावनालाई मध्यनजर गर्दै असोज ९ गते शुक्रबार व्यास नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। नगरपालिकाले सम्भावित विपद्बाट जोगिन सम्पूर्ण नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यसैगरी, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ७ हजार ८६२ लाभग्राहीमध्ये असोज ७ गतेसम्म ७ हजार ४२३ जनाले नवीकरण गरेका छन् भने ४ सय ३९ जनाको नवीकरण हुन बाँकी रहेको छ। नवीकरण गरिसकेकामध्ये ३७ जनाले अझै बैंक खाता खोल्न बाँकी रहेकाले सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक पहल गर्ने निर्णय गरिएको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा–उपशाखाका प्रमुख र वडा सचिवहरूको सहभागिता थियो। बैठकले गण्डकी प्रदेश सरकारबाट आह्वान गरिएको नवप्रवर्तनीय कार्यक्रममा सहभागिताका लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई जिम्मेवारीसमेत दिएको प्रवक्ता सुरेश थापाले जानकारी दिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button