प्रहार समाचार । तनहुँ,९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ मा नेतृत्व चयनको सरगर्मी बढिरहेका बेला व्यास १ मोहोरीया टार निवासी राधिका पन्थले प्रदेशसभा ‘ख’ को महिला उपसभापति पदमा उम्मेदवारी दिने तयारी अघि सारेकी छन्।

यसअघि क्षेत्र नं. १ ‘ख’ को प्रदेश सदस्यका रूपमा काम गरिसकेकी पन्थले अब संगठनभित्र महिलाको अर्थपूर्ण सहभागिता र सामाजिक मुद्दालाई नेतृत्वको प्राथमिकतामा राख्ने उद्देश्यसहित आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।पन्थले महिला हक–हित, समान अवसर, सामाजिक न्याय र नेपाली कांग्रेसले अंगीकार गरेको समाजवादलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेकी छन्।
विपी कोइरालाले देखाएको राजनीतिक मार्गलाई आत्मसात् गर्दै समाजका पछाडि पारिएका वर्ग, समुदाय र महिलाको अधिकार स्थापित गर्न पार्टी संगठन थप जनमुखी र जिम्मेवार बन्नुपर्ने उनको धारणा छ। व्यास नगरपालिका–१ मोहोरियाटार निवासी पन्थ लामो समयदेखि कांग्रेसको स्थानीय संगठनसँग जोडिँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। व्यास–१ मा रहेर सामाजिक सुधार तथा समुदायसँग प्रत्यक्ष जोडिएका गतिविधिमा सक्रियता देखाउँदै आएकी उनी पछिल्लो समय नेपाली कांग्रेस तनहुँका विभिन्न कार्यक्रम तथा संगठनात्मक गतिविधिमा समेत निरन्तर सहभागी हुँदै आएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ भने पछिल्लो सूचनाअनुसार वर्षाका कारण प्रतिकूल अवस्था भएका क्षेत्रमा क्षेत्रीय अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसमा पन्थको दाबीले प्रदेश ‘ख’ को नेतृत्वमा महिला सहभागिता, सामाजिक न्याय र संगठनभित्र वैचारिक मुद्दालाई केन्द्रमा ल्याउने बहस थप चर्काउने देखिएको छ। उनको उम्मेदवारीको मुख्य जोड भने पार्टीको समाजवादी आदर्शलाई नारामा सीमित नराखी जनताको दैनिक जीवनसँग जोडेर व्यवहारमा उतार्ने विषयमा रहेको छ।





















