प्रहार समाचार । तनहुँ, ८ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट क्षेत्रीय महाधिवेशन प्रतिनिधि पदका लागि सिर्जना तिवारीले उम्मेदवारी प्रस्तुत गरेकी छन्। व्यास नगरपालिका–१३ निवासी तिवारी हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमिति सदस्यका रूपमा सक्रिय छन्।

पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र समावेशी नेतृत्वको बहस चलिरहेका बेला तिवारीले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्ने अभियानका रूपमा अघि सारेकी छन्। उनले एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै पार्टीको विजय यात्रामा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। तिवारीले “पुस्तान्तरण, रूपान्तरणसहित परिवर्तनलाई संस्थागत गर्दै विजय यात्रामा तपाईहरूसँग सधैं सँगै रहनेछु” भन्ने प्रतिबद्धतासहित मतदाता तथा कांग्रेस कार्यकर्तामाझ आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।

उनले पार्टीमा सबै वर्ग, समुदाय र पुस्ताको सहभागिता सुनिश्चित हुने समावेशी नेतृत्व निर्माणमा आफ्नो भूमिका रहने बताएकी छन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गते गाउँ–नगर वडा अधिवेशन हुँदैछ। देशभरका ६ हजार ५ सय ४३ वटै वडामा वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन हुने कार्यतालिका छ। त्यसपछि क्षेत्रीय तथा प्रदेश ‘क’ र ‘ख’ अधिवेशनमार्फत नेतृत्व तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ।





















