प्रहार समाचार । तनहुँ, २५ साउन २०८३ सोमबार । देशभर जस्तै तनहुँको सदरमुकाम दमौलीमा खाना पकाउने ग्यासको अभाव भएसङ्गै चर्किएसङ्गै ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गर्दै दमौलीका माधव अधिकारीले आजदेखि अनसन सुरु गरेका छन्। व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा अनसन बसेका अधिकारीले ग्यासजस्तो अत्यावश्यक वस्तुको अभाव हुँदा समेत सम्बन्धित निकाय गम्भीर नबनेको भन्दै सरकार र प्रशासनको ध्यानाकर्षण गराउन अनसन थालेका हुन्।

बजारमा पर्याप्त ग्यास उपलब्ध नहुँदा उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने, लामो समय कुर्दासमेत आवश्यक परिमाणमा ग्यास नपाउने र दैनिक खाना पकाउने आधारभूत आवश्यकता नै प्रभावित हुने अवस्था सिर्जना भएको अधिकारीको आरोप छ। ग्यासको अभावले सर्वसाधारणको भान्सा प्रभावित भइरहँदा समस्या समाधानका लागि जिम्मेवार निकायबाट प्रभावकारी पहल हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। अधिकारीले दमौली तथा आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति तत्काल सुनिश्चित गर्न, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने प्रवृत्तिमाथि कडाइ गर्न र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन माग गरेका छन्।

“ग्यासजस्तो अत्यावश्यक वस्तुका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था स्वीकार्य छैन। जनताको चुलो बल्ने व्यवस्था मिलाउनु राज्यको दायित्व हो,” अधिकारीले बताएका छन्। ग्यासको अभाव तत्काल समाधान नगरिए यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जनजीवनमा थप गम्भीर रूपमा पर्ने देखिएको छ। अधिकारीले स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय र ग्यास व्यवसायीबीच तत्काल समन्वय गरी आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन्। उनले समस्या समाधान नभएसम्म आफ्नो अनसन जारी रहने संकेत गर्दै जनताको चुलो निभ्ने अवस्था आउँदा पनि राज्य मौन बस्न नहुने चेतावनी दिएका छन्।















