हेडलाईनसमाचारगण्डकीबागमती

अर्थमन्त्री वाग्लेको अर्थनीतिमाथि सांसद न्यौपानेको प्रहार : ‘कागजी सूत्र असफल भयो’

प्रहार समाचार । तनहुँ, २५ साउन २०८३ सोमबार । दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले आफ्नै पार्टीका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीतिमाथि प्रश्न उठाएका छन्। न्यौपानेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर जनदबाबपछि छुट दिने निर्णयप्रति टिप्पणी गर्दै अर्थनीति कागजी सूत्रमा सीमित हुन नहुने धारणा सार्वजनिक गरेका हुन्।

उनले संविधानको भावना र नेपाली यथार्थविपरीत गरिएको प्रयोग जनदबाबका कारण सच्याउनुपरेको उल्लेख गर्दै अर्थनीति जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन्।न्यौपानेको टिप्पणीलाई अर्थमन्त्री वाग्लेको कार्यशैली र आर्थिक नीतिमाथिको प्रत्यक्ष राजनीतिक प्रहारका रूपमा हेरिएको छ। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा समता करसम्बन्धी निर्णय विवादमा परेपछि फिर्ता लिनुपरेको प्रसङ्गलाई उनले अर्थनीतिको असफल प्रयोगसँग जोडेको देखिन्छ। ‘अर्थनीति कागजी सूत्र होइन’ भन्ने उनको अभिव्यक्तिले अर्थमन्त्री वाग्लेको आर्थिक नीतिनिर्माणप्रति असन्तुष्टि सार्वजनिक रूपमै प्रकट भएको संकेत गरेको छ।२०८० वैशाखको उपनिर्वाचनअघि डा. वाग्लेलाई नेपाली कांग्रेसबाट रास्वपामा ल्याउन तथा तनहुँ क्षेत्र नम्बर १ बाट स्थापित गराउन न्यौपानेले महत्वपूर्ण भूमिका खेलेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

तर पछिल्लो समय यी दुई नेताबीच सम्बन्धमा दूरी बढ्दै गएको दाबी रास्वपा वृत्तमा हुन थालेको छ। एउटै जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित न्यौपाने र वाग्लेको राजनीतिक सम्बन्धमा देखिएको मतभेद पछिल्लो सार्वजनिक अभिव्यक्तिसँगै थप सतहमा आएको देखिन्छ।यसैबीच न्यौपाने पछिल्लो समय पार्टीका कार्यकर्ताको ठूलो समूह लिएरभन्दा सांसदको हैसियतमा एक्लै गाउँ–टोलका कार्यक्रममा सहभागी हुन थालेको बताइएको छ।

जनप्रतिनिधि र जनताबीचको सहज भेटघाटलाई अत्यधिक कार्यकर्ताको उपस्थितिले पार्टीगत स्वरूप दिन थालेको भन्दै उनले कतिपय कार्यक्रमसमेत स्थगित गर्ने गरेको दाबी गरिएको छ। आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरिसकेका न्यौपानेले आफ्नै शैलीमा जनतामाझ सक्रियता बढाइरहेका बेला अर्थमन्त्री वाग्लेलक्षित पछिल्लो टिप्पणीले रास्वपाभित्रको आन्तरिक राजनीतिक समीकरण र दुई नेताबीचको सम्बन्धबारे नयाँ बहससमेत जन्माएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button