प्रहार समाचार । काठमाडौँ, २५ साउन २०८३ सोमबार । मनसुन सक्रिय भएसँगै देशभर वर्षाको क्रम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ । तस्बिर : प्रहार अनलाइन मिडिया

अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति पनि वर्षाको जोखिम कायमै रहनेछ । राति देशभर सामान्यतया बदली रहने तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ । कोशी र मधेसका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।
भारी वर्षासँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण गेग्रान बहाव, बाढी तथा पहिरोको जोखिम बढ्नुका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।















