प्रहार समाचार । चितवन,१२ असार २०८३ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा प्रतिनिधिसभा सांसद तथा कानुनमन्त्री सोबिता गौतम विजयी भएकी छन्। प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई स्पष्ट मतान्तरले पराजित गर्दै गौतम उपसभापतिमा निर्वाचित भएकी हुन्।

भरतपुरमा शुक्रबार सम्पन्न मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दा कार्कीले ५७२ मत ल्याइन्। यससँगै पार्टीको शीर्ष नेतृत्वमा गौतमको भूमिका थप मजबुत बनेको छ। यसअघि सचिवालय सदस्य रहेकी गौतम अहिले उपसभापतिको जिम्मेवारीमा पुगेकी हुन्।
उनी प्रतिनिधिसभामा दोस्रो कार्यकालका सांसद समेत हुन्। रास्वपाको विधानअनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था छ। यसअघि स्वर्णिम वाग्ले निर्विरोध उपसभापति चयन भइसकेका छन् भने बाँकी एक उपसभापति मनोनयनमार्फत चयन गरिनेछ। उपसभापति निर्वाचनको नतिजासँगै महाधिवेशनले पार्टीको नयाँ नेतृत्वलाई अन्तिम रूप दिने प्रक्रिया थप अघि बढेको छ।




















