प्रहार समाचार । काठमाडौं, ५ वैशाख २०८३ शनिवार । अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले इरान सँगको युद्धविराम अवधि नलम्बिने संकेत दिएका छन्। एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले गत बुधबारदेखि लागू भएको दुई साताको युद्धविराम तोकिएको समयभित्रै समाप्त हुने बताएका हुन्। उक्त समयसीमा आगामी बुधबार सकिँदैछ। उनका अनुसार सो अवधिभित्रै दीर्घकालीन सम्झौता हुनुपर्नेछ। “सम्भवतः म युद्धविराम थप्दिनँ। यदि सम्झौता भएन भने दुर्भाग्यवश फेरि आक्रमण हुन सक्छ” ट्रम्पको भनाइ थियो।

ट्रम्पले इरानमाथिको नाकाबन्दी कायमै रहने स्पष्ट पारे। हाल अमेरिकाले इरानतर्फ जाने तथा त्यहाँबाट आउने तेलवाहक जहाजहरूलाई समुद्रमै रोक लगाउँदै आएको छ।
यसबीच नाकाबन्दीपछि इरानले शुक्रबारदेखि हर्मुज जलडमरूमध्य (मध्यपूर्व क्षेत्रमा पर्ने एक अत्यन्त महत्वपूर्ण समुद्री मार्ग) अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको छ।
ट्रम्पले मध्यपूर्वबाट केही सकारात्मक संकेत आएको उल्लेख गरे पनि त्यसबारे विस्तृत जानकारी भने खुलाएनन्। साथै, सप्ताहन्तमा थप वार्ताको सम्भावना अझै कायम रहेको उनले बताए।



























