• विजय अधिकारी ( संवाददाता) प्रहार समाचार । लमजुङ, २६ मंसिर २०८२ शुक्रबार । नेपाली कांग्रेस लमजुङले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रियसभा तर्फका उम्मेदवार सिफारिस सार्वजनिक गरेको छ। प्रत्यक्षतर्फ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरिएको छ। तर सिफारिस सूचीमा दशकौँदेखि दोहोरिँदै आएका ‘उही पुराना अनुहार’ हावी देखिएपछि जेनेजी आन्दोलनले उठाएको नेतृत्व रूपान्तरणको मर्म ओझेलमा परेको चर्चा हुँदैछ ।

प्रत्यक्षतर्फ सिफारिस हुने नेतामा संविधानसभा सदस्य तथा पूर्व सभापति चन्द्रबहादुर कुँवर, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व उपसभापति गमप्रसाद गुरुङ, पूर्व तरुण दल महासचिव यमबहादुर गुरुङ, पूर्व क्षेत्रीय सभापति विष्णुप्रसाद धिताल, पूर्व क्षेत्रीय सभापति वृषराज गुरुङ, काठमाडौं जिल्ला बार एसोसिएशनका अध्यक्ष सुबोधबाबु चिलुवाल, नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेविसंघ लमजुङका पूर्व अध्यक्ष शैलेन्द्र घिमिरे र हाल नेविसंघ केन्द्रीय सदस्य राजकुमार गुरुङ छन्।
त्यस्तै समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्र प्रसाद पौडेलको नाम सिफारिस भएको पार्टीले जनाएको छ।
राष्ट्रियसभा तर्फबाट गर्जबहादुर गुरुङ, विष्णुमाया न्यौपाने धिताल र शुभनाथ मिश्रको नाम सिफारिस गरिएको छ। सिफारिसमा समावेश हुनेहरू प्रायः पुनः दोहोरिएका नेतृत्व नै भएको बताउँदै स्थानीय कार्यकर्ताहरूले कांग्रेसभित्र उठेको जेनेजी र नेतृत्व पीढी बदल्ने आन्दोलन ‘सूचीमै हराएको’ टिप्पणी गरेका छन्। उनीहरूका अनुसार परिवर्तनको माग र नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहे पनि व्यवहारमा ‘उही अनुहारको वर्चस्व’ फेरि दोहोरिएको छ।




















